७० प्रतिशत सम्पन्न भयो कमलपोखरी पुनःनिर्माण, एक महिनाभित्रै पुरा हुने

४ बर्ष अगाडि

काठमाडौं - कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । आगामी एक महिनाभित्र सबै सक्नेगरी पुनःनिर्माणको काम भइरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । 

अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको काम भइरहेको छ ।  सौन्दर्यको कामसँगै काठको केही कलात्मक बुट्टा कुँद्ने काम पनि भइरहेको कामपा भौतिक पुर्वाधार महाशाखा प्रमुख राम थापाले जानकारी दिए । 

पुनःनिर्माणपछिको शुरुआती चरणमा एक लाख लिटर पानी भर्ने योजना रहेको छ । एक वर्षभित्र सक्ने गरी अघिल्लो असार १९ गते कमलपोखरी पुनःनिर्माणका लागि शिलान्यास भएको थियो ।

पोखरी पुनःनिर्माणको जिम्मा धनञ्जय कँडेल जेभी रानीबारीले पाएको छ । पोखरीको चारै कुनामा कमल रोप्नका लागि साना–साना पोखरी बनाइनेछन् । आगन्तुकलाई बस्नका लागि चौतारा पनि निर्माण गरिनेछन् । 

कामपाले करिब २४ रोपनीमा कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल २०७६ असारबाट शुरु गरेको हो । त्यसका लागि रु छ करोड ३६ लाखको ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरि सिँढी बनाउने काम गरिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया