३ करोड ५८ लाखको लागतमा निर्माण हुने पुल ५ वर्षमा पनि बनेन

४ बर्ष अगाडि

काठमाडौं - ५ वर्ष अघिबाट निर्माण शुरु भएको दार्चुला तिङ्कर सडक खण्डमा हालसम्म झण्डै ४३ किलोमिटर मात्रै सडकको ट्र्याक खुलेको छ । 

अहिले उक्त सडक खण्ड ब्यास गाउँपालिकाको केन्द्र सुनसेरा भन्दा तीन किलोमिटर अघिसम्म मात्रै पुगेको छ । सो सडक खण्डको मुख्य क्षेत्रमा पर्ने यी दुई पुल निर्माण समयमै नहुँदा सडक खण्ड वर्षातमा अवरुद्ध हुँदै आएको छ ।

सडक निर्माणसँगै पुल निर्माणमा सरकारी पक्ष र निर्माण व्यवसायीकै लापरवाहीका कारण समयमै निर्माण नसकिएको व्यवसायीहरू बताउँछन् । 

झण्डै दुई वर्षभित्रै निर्माण सक्नुपर्ने पुल निर्माण पाँच वर्षपछि मात्रै अन्तिम चरणमा पुगेको छ । पुल निर्माणमा भएको ढिलाइले सर्वसाधारणले समेत सास्ती भोग्नु परेको छ । 

पुल निर्माण नहुने तर पटकपटक म्याद थपेको थप्यै गर्दा स्थानीयवासीले आवतजावतमै समस्या भोग्नुपरेको बताइएको छ । 

निजाङगाड खोला पुलमा राजेन्द्र मालिकार्जुन जेभीसँग २०७२ फागुन ५ गते निर्माण सम्झौता गरी २०७४ जेठ ४ गते सक्ने लक्ष्य थियो । सो पुल कूल रु दुई करोड ४६ लाखको लागतमा निर्माण गर्ने सम्झौता भएको हो । 

लास्कु खोला पुलमा राजेन्द्र देवसिंह मालिकार्जुन जेभीसँग २०७२ चैत १५ गते सम्झौता गरी २०७४ असार १४ गते निर्माण सम्पन्न हुनुपर्ने थियो । 

सो पुल कूल रु तीन करोड ५८ लाखको लागतमा निर्माण गर्नुपर्ने हो ।  दुवै पुलको काम समयमै सकिएन ।

दुबै ठाउँमा पुल निर्माण नहुँदा स्थानीयवासीलाई आवतजावतमा निकै समस्या हुँदै आएको छ । हिउँदको चिसो महिनामा नदी भएर वारपार गर्न साह्रै अप्ठ्यारो हुन्छ । अहिले दुवै पुलको निर्माण कार्यले केही गति लिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया