काठमाडौँ - नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माण कार्य ९ प्रतिशतले सम्पन्न भएको छ । गत वर्ष कोरोना प्रभावका कारण निर्माण सुस्त भए पनि चालु आवमा निर्माणले गति लिइरहेको हो ।
गत वर्षसम्म तोकिएको तालिकाभन्दा धेरै ढिलाइ भए पनि अहिले झण्डै एक महिना मात्रै ढिला भएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए ।
सोही आयोजनाअन्तर्गत मुख्य सुरुङको अगाडिपट्टि नागढुङ्गामा ‘ओभरपास’ निर्माण भइरहेको छ । सुरुङसम्म पुग्ने पहुँच सडक निर्माण अघि बढेको छ ।
आयोजनाका कारण खानेपानीको समस्या आउन सक्ने भएकाले विकल्पका रुपमा पूर्वाधार निर्माण अघि बढिरहेको छ । पहुँच सडक र ‘ओभरपास’ डेढ महिनामा निर्माण सकिने बताइएको छ ।
निर्माणस्थलमा अहिले नेपाली र जापानी जनशक्ति कार्यरत छ । नेपाली इञ्जिनीयर झण्डै ९० र परामर्शदाता कम्पनीका तीन जना छन् । निर्माण कम्पनीका २४ प्राविधिक जनशक्ति त्यहाँ कार्यरत छन् ।
गत वर्ष असोजमा कम्पनीले सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । जापान सरकारको ‘सफ्ट लोन’मा सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो ।
सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबीसे सडकखण्डमा दैनिकरूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया