नयाँ लगानीको क्षेत्र खोज्दै निफ्रा, नागरिक उड्ययन क्षेत्रमा लगानीका लागि छलफल शुरु

४ बर्ष अगाडि

काठमाडौं ।  लगानीका लागि ठाउँ खोजिरहेको नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा)ले नागरिक उड्डयन क्षेत्रमा लगानी गर्न छलफल शुरु गरेको छ । निफ्राले विभिन्न विमानस्थलको निर्माण एवं सञ्चालन तथा एयरलाइन्स कम्पनीको सञ्चालन लगायतमध्ये कुनै क्षेत्रमा लगानीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल सुरु गरेको हो । 

गत साता नागरिक उड्यनको क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ भन्ने विषयमा निफ्राको टोलीले प्राधिकरणसँग छलफल गरेको बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले जानकारी दिए । ‘नागरिक उड्यनको क्षेत्रमा लगानी गर्ने ठाउँ कहाँकहाँ छ भनेर क्यानसँग छलफल प्रारम्भिक छलफल गरेका छौं ’ पाण्डेले भने, ‘क्यानले यसमा सहकार्य गरेर जाने प्रतिवद्धता व्यक्त गरेको छ, हामी प्रारम्भिक छलफलमै छौं ।’ उनका अनुसार यो क्षेत्र निफ्राको लगानीको प्राथमिकताको क्षेत्र हो। 

अन्तर्गत एयरलाइन्स कम्पनीको सञ्चालन र विभिन्न विमानस्थलको निर्माण एवं सञ्चालनको क्षेत्रमा सम्भावना रहेको नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता राजुकमार क्षेत्री बताउँछन् । 

अहिले नागरिक उड्डयन क्षेत्र अन्तर्गत एयरलाइन्स कम्पनीको सञ्चालन निजी क्षेत्रका लागि खुला रहेपनि अर्को लगानी संभावनाको क्षेत्र विमानस्थलको निर्माण एवं सञ्चालनका लागि भने कानून बाधक छ ।  कानून अनुसार अहिले देशभरको विमानस्थलको निर्माण र सञ्चालनको अधिकार प्राधिकरणलाई मात्रै छ। 

तर त्यसमा निजी क्षेत्रले पनि लगानी गर्न सक्ने प्रावधान सहितको नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण स्थापनासम्बन्धी विधेयक अहिले संघीय संसदमा विचाराधिन अवस्थामा छन् ।  विधेयक पारित भएपछि विमानस्थलमा निजी क्षेत्रको सहभागिता खुला हुने विषयमा निफ्राका पदाधिकारीहरुसँग छलफल भएको क्यानका प्रवक्ता क्षेत्री बताउँछन् ।

क्षेत्री नागरिक उड्डयनको क्षेत्रमा बैंकले लगानीको इच्छा देखाउनु प्रशंसनीय रहेको भन्दै आफूहरुले लगानीका लागि सहज वातावरण निर्माण गर्न भूमिका खेल्ने बताए । ‘उहाँहरु कसरी लगानी गर्न सकिन्छ, हामी यो क्षेत्रमा लगानी गर्छौं भनेर छलफल गर्न आउनुभएको थियो । हामीले लगानी गर्ने क्षेत्रबारे जानकारी दियौं,’ क्षेत्रीले भने, ‘आवश्यकता अनुसार सहजीकरण गर्न पनि तयार छौं ।’

स्थापना भएको ३ वर्ष भइसकेको र सर्वसाधारणमा आईपीओ समेत जारी भइसकेको निफ्रालाई अब लगानस्कर्ताको उचित प्रतिफलका लागि प्रतिस्पर्धात्मक क्षेत्रमा लगानी बढाउने दबाब छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया