एक अर्ब ७६ करोडको लागतमा प्रदेश गौरवको योजना, असार सम्ममा आधा सम्पन्न हुने

४ बर्ष अगाडि

काठमाडौं - मोरङको पुष्पलाल चोक घिनाघाटदेखि विराट चोकसम्मको २२ किमी सडकमध्ये १० किमी सडक आगामी असारसम्ममा सम्पन्न हुने भएको छ । 
 
प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको सो सडक मोरङका लागि मात्र नभएर अन्य जिल्लाका लागि पनि  सर्वाधिक चर्चामा रहेको छ । 

विराटचोकदेखि घिनाहाघाटसम्म चार लेनमा विस्तारित सडकको २०७६ साल भदौ २३ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकास्थित शिलान्यास गरेका थिए । 

सो सडक रु एक अर्ब ७६ करोडको लागतमा २२ किलोमिटर निर्माण हुने सो सडकलाई तीन खण्डमा विभाजित गरेको भौतिक पूर्वाधार कार्यालयले जनाएको छ । 
    
पहिलो र दोस्रो गरी २० किमी सडक श्रेष्ठ रमण एपेक्सले ठेक्कामा लिई काम शुरुआत गरेको छ भने तेस्रो प्याकजेमा दुई किमी सडक र घिनाघाटको पुल रु छ करोडको लागतमा निर्माण गर्न लामा बानियाँ कम्पनीले ठेक्का लिई काम शुरु गरेको  कार्यालयका प्रमुख राजन रेड्डीले जानकारी दिए ।

उनले ठेक्कामा लागेका बाटोको १० किमी चालू आर्थिक वर्षमै सम्पन्न हुने र पुल बाहेकका अन्य बाटो आउने आर्थिक वर्षमा सम्पन्न हुने गरी निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेको जानकारी दिए ।    
    
सडक निर्माणबाट मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासम्मका जनतालाई आवातजावतमा सुविधा पुग्ने बताइएको छ ।  सडकको गुणस्तरमा कमी आउन नदिन निरन्तर अनुगमन र परीक्षणको काम भइरहेको छ । 

विराटनगर महानगरपालिकाको पुष्पलाल चोक हुँदै झोराहाट, ग्रामथान गाउँपालिको नेताचोक, हरैचा हुँदा पूर्व–पश्चिम राजमार्गको सुन्दरहरैचा नगरपालिकाको विराटचोकमा गएर सडक जोडिने सो सडकको निर्माणसँगै स्थानीयवासी निकै उत्साहित भएका छन् ।
    
बहुवर्षीय योजना अन्तर्गत सुनसरी र मोरङका गरी रु नौ अर्बको लागतमा २१ वटा कालोपत्र सडक योजना सञ्चालन रहेको कार्यालयले जनाएको छ । 

कार्यालयका  अनुसार सुनसरीमा पाँच र मोरङ छ वटा पक्की पुल निर्माण गर्न रु २२ करोडको योजना सञ्चालनमा रहनुका साथै मोरङमा १२ वटा झोलुङ्गे पुल निर्माण गर्न रु छ करोड लागतको योजना सञ्चालनमा रहेको प्रमुख रेड्डीले जानकारी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया