साढे तीन करोडको लगानीमा ऋषिङपाटन-पल्ट्याङ जोड्ने पुल निर्माण हुने

४ बर्ष अगाडि

तनहुँको भीमाद नगरपालिका–५ ऋषिङपाटन र ऋषिङ गाउँपालिका–८ पल्ट्याङ जोड्ने फेदीखोलामा पुल निर्माण हुने भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले फेदीखोलामा पक्की पुल निर्माण शुरु गरेको हो  ।   

भौतिक पूर्वाधार विकास मन्त्रालयको रु तीन करोड ५८ लाख ३१ हजार ९८० को लागतमा फेदीखोलामा पुल निर्माण शुरु भएको हो । पुल निर्माणका लागि विसं २०७७ असार २६ गते चितवनस्थित केबिसी बिल्डर्स कम्पनी प्रालिसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार २५ मिटर लामो पुलको चौडाइ ८।४ मिटर रहनेछ । छ मिटरमा गाडी गुड्ने र दायाँबायाँ १।४÷१।४ को पेटी निर्माण हुनेछ । सो पुल २०७८ पुस २५ गतेसम्म सम्पन्न गर्ने म्याद छ । पुल निर्माणका लागि चालू आर्थिक वर्षमा रु ७५ लाख विनियोजन भएको छ । 

निर्माण कम्पनीका प्रतिनिधि कुमार आचार्यले राज्यले तोकेको मापदण्ड र प्राविधिकले दिएको निर्देशनअनुसार समयभित्रै पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै गण्डकी प्रदेश सरकारको सहयोगमा नै शालिग्राम करिडोर अन्तर्गत घिरिङ गाउँपालिका–४ नयाँ टारस्थित तिरन्दीखोलामा पनि पक्की पुल निर्माण शुरु भएको छ । प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम करिडोरमा रु तीन करोड १४ लाख एक हजार २८२ को लागतमा पुल निर्माण शुरु भएको हो । पुल निर्माणका लागि २०७७ वैशाख २२ गते वाइएसएस निर्माण सेवा प्रालि सुर्खेतसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

पच्चिस मिटर लामो पुल २०७८ भदौ २९ गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद छ । कोरोनाका कारणले पुल निर्माणमा ढिलाइ भए पनि अब तीव्र गतिमा काम शुरु गरिने कार्यालयका प्रमुख ढुङ्गानाले जानकारी दिए। कुल ८।४ मिटर चौडाई रहने सो पुल निर्माणका लागि चालू आर्थिक वर्ष रु ५५ लाख बजेट विनियोजन भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया