पाचँथरका सातवटै गाउँपालिकामा पुग्यो विजुली

४ बर्ष अगाडि

 

पाचँथर जिल्लाका सातवटै गाउँपालिकामा विद्युत्को केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ । केन्द्रीय प्रसारणलाइन विस्तार हुन बाँकी रहेका याङवरक र फालेलुङ गाउँपालिकामा लाइन विस्तार गरी चार्ज गर्ने तयारी गरिएसँगै जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको हो । दुवै गाउँपालिकाका मुख्य स्थानमा केन्द्रीय प्रसारण लाइन जोडिएपछि केही सातामै घरघरमा विद्युत् विस्तार हुने नेपाल विद्युत् प्राधिकरण फिदिम वितरण केन्द्रका प्रमुख साजन महर्जनले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण फिदिम वितरण केन्द्रले याङ्वरक गाउँपालिकाका वडा नं १, २ र ३ मा विद्युत् लाइन विस्तार गरी सोमबारसम्ममा लाइन चार्ज गर्न लागेको छ । विस्तार गरिएको विद्युत् प्रसारण लाइनले जिल्लाको सुदूर उत्तरी क्षेत्र च्याङ्थापु र फलैँचाका विभिन्न बस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्याउने छ । 

यस्तै आगामी साता फालेलुङको वडा नं ३ देखि ८ सम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्ने तयारी भइरहेको केन्द्रले जनाएको छ । 

 । सो गाउँपालिकाका बाँकी दुईटा वडामा सहकारीले विद्युतीकरणको कार्य अगाडि बढाएको छ । जिल्लाका हिलिहाङ, फाल्गुनन्द, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकामा एक वर्षअघि नै केन्द्रीय विद्युत् प्रसारण लाइन जडान भइसकेको छ । 

यी गाउँपालिकाका कतिपय स्थानमा प्राधिकरणको वितरण केन्द्रले विद्युत् जडान गरेको छ भने केही स्थानमा सहकारीले विद्युतीकरणको कार्य अगाडि बढाएका छन् ।

 फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकामा भने दशकअघि नै फिदिममै उत्पादित विद्युत् जडान भएको थियो । स्थानीय तहका सबै घरमा भने विद्युत् जडान हुन सकेको छैन । केन्द्रीय प्रसारण लाइन विस्तार हुन बाँकी दुई गाउँपालिकामा समेत लाइन विस्तार भएपछि जिल्लाका सबै घरमा विद्युत् विस्तार गरी पूर्ण विद्युतीकरण भएको जिल्ला घोषणा गर्ने तयारीसमेत अगाडि बढाइएको छ ।

जिल्लामा डेढ दर्जनभन्दा बढी विद्युत् सहकारी संस्थाले ग्रामीण विद्युतीकरणको कार्यलाई अगाडि बढाउँदै आएका छन् । 

केन्द्रीय प्रसारण लाइन विस्तार हुनु पूर्व फिदिममा फिदिम साना विद्युत् सहकारी संस्थाले विद्युत् उत्पादन गरी फिदिम नगरपालिका क्षेत्रसहित कुम्माक गाउँपालिकामा समेत विद्युतीकरणको कार्य गर्दै आएको थियो । 

्सहकारीले ्करीब ७६०० घरमा विद्युत् जडान गरेको छ । ग्रामीण विद्युत् सहकारी संस्थाले सरकारको ९० प्रतिशत तथा सहकारी र उपभोक्ताको १० प्रतिशत लागतमा विद्युतीकरणका कार्य अगाडि बढाउँदै आएका छन् । विद्युत् प्राधिकरणबाट विद्युतीकरणको कार्य शुरु हुन नसकेका बेला सहकारीको अगुवाइ विद्युतीकरणका कार्य शुरुआत भएका थिए । 

प्राधिकरणले फिदिममा वितरण केन्द्र स्थापना गरेपछि प्राधिकरण, सहकारी र प्राधिकरणको काबेली कोरिडोर ग्रामीण विद्युतीकरण आयोजनाबाट विद्युतीकरण कार्य हुँदै आएका छन् । 

तीनवटा निकायबाट विद्युतीकरण कार्य हुँदै आएकाले यकीन तथ्याङ्क तयार हुन सकेको छैन । वितरण केन्द्रले सहकारी संस्थाबाट विद्युतीकरणको कार्य हुन नसकेका स्थानमा काम गर्दै आएको छ । दुई वर्षअघि स्थापना भएको वितरण केन्द्रबाट हालसम्म करीब ७१०० घरमा विद्युत् विस्तार भएको छ ।

प्रायःजसो सहजरुपमा विद्युत् लाइन विस्तार हुनसक्ने ठाउँमा सहकारी गठन भई विद्युतीकरणका कार्य हुँदै आएका छन् । विद्युत् प्राधिकरणले काबेली करिडोर ग्रामीण विद्युतीकरण आयोजनाबाट पाँचथरसहित इलाम र ताप्लेजुङका विशेष क्षेत्रमा विद्युतीकरणको कार्य गर्दै आएको छ । 

पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको पहलमा उक्त आयोजनाले पाँचथरमा विद्युतीकरणमा थप लगानी गरिरहेको छ ।

 सांसद् र मन्त्री नरहेका अवस्थामा समेत नेम्वाङले ग्रामीण विद्युतीकरणका लागि पहल लिँदै आएका थिए । फलस्वरुपः पाँचथरमा छिमेकी जिल्लाभन्दा अघि नै विद्युतीकरण पूरा हुने आँकलन गरिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया