स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतले आर्थिक सहयोग गर्ने भएको छ । धादिङ र सिन्धुपाल्चोक जिल्लाका २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतले ५३ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको हो ।
२०७२ सालको भूकम्पले क्षति पुर्याएका धादिङ जिल्लाका १२ वटा र सिन्धुपाल्चोक जिल्लाका १३ वटा गरी कूल २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण हुन लागेको हो ।
पुनर्निर्माणका लागि छनोट हुन सफल बोलपत्रदातालाई कार्य हस्तान्तरण गर्न हेतु ठेकेदार र केन्द्रीय आयोजना कार्यान्वयन इकाई का बीच चारवटा ठेक्का सम्झौतामा पनि हस्ताक्षर भएको छ । यी स्वास्थ्य चौकीको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान रुड्कीले प्राविधिक सहयोग गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।
नेपालका १० जिल्लाका स्वास्थ्य क्षेत्रमा पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्ता जनाएको छ ।
सोही प्रतिबद्ता अनुरुप १४७ वटा स्वास्थ्य परियोजना मध्ये यी २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत हुन लागेको हो ।
प्रतिक्रिया