२० अर्ब लगानीको जगदुल्ला आयोजनाका लागि सडक निर्माण कार्य तीव्र

४ बर्ष अगाडि

जगदुल्ला जलविद्युत् कम्पनीको आयोजना निर्माणका लागि सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माणको काम शुरु गर्न लागिएको छ । 

आयोजनाको डिपिआरको काम सम्पन्न भएको छ । डिपिआर सकिएलगत्तै आयोजना निर्माणको कूल लागत रु १९ अर्ब ९० करोडको लाग्ने अनुमान गरिएको छ । रु २२ अर्बबाट लागत रकम घटेर रु १९ अर्बमा झरेको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । इलमा ६३ घरधुरीको ७१ रोपनी जग्गाको प्रतिरोपनी पाँच लाख ५० हजार र काइगाउँमा १८७ रोपनी १०० घरधुरीको प्रतिरोपनी पाँच लाख १५ हजारका दरले मुआब्जा वितरण कार्य पूरा भएको छ ।

कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ । पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण भएको छ । अर्धजलाशयका रूपमा थालिएको आयोजना छ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।

करिब सात दशमलव एक किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २३ मिटर उचाइ र १०० मिटर चौडाइको जलाशययुक्त बाँध निर्माण हुनेछ । छ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ । विस्तृत परियोजनाको जिम्मा एनइए इञ्जिनीयरिङले रु २७ करोडमा लिएको उनको भनाइ छ । आयोजना निर्माणका लागि १० प्रतिशत शेयर स्थानीयवासीले हाल्न पाउनेछन् । सरकार आफैँ र स्थानीयवासीलाई शेयर दिएर यो आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ ।

अहिले विद्युत् उत्पादन गृहको माटो जाँचका लागि ३०० मिटरभित्र सुरुङ निर्माण गर्नुपर्ने छ । त्यस्तै इलमा समेत पुल निर्माण गरिने भएको छ । कर्णाली प्रदेश सरकारले त्रिवेणीदेखि इलसम्मको सडक ट्र्याक छिटो खोलेमा आयोजनाको कामसमेत छिटो हुने आयोजनाको भनाइ छ । आयोजना निर्माणका लागि आवश्यक विद्युत्का लागि इलस्थित फेदीखोलाबाट दुई मेगावाट र काइगाउँस्थित स्थानीय खोलाबाट दुई मेगावाट विद्युत् उत्पादन गर्न सम्भाव्यताको काम शुरु भएको छ । आयोजना निर्माणस्थल बाँधस्थलमा घर नभएका कारण आयोजना निर्माणका लागि समस्या नभएको प्रमुख सापकोटाले जानकारी दिए ।

त्यस्तै रु तीन करोडको जगदुल्लाबाट मुड्केचुलाको सर्मीसम्म सडकको काम शुरु भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण तोकिएको मितिमा सम्पन्न हुन मुस्किल परेको छ । काइगाउँबाट मुड्केचलासम्म जोड्ने सडकको काम रु पाँच करोडमा शुरु गरिएको प्रदेशसभा सदस्य शाहीले जानकारी दिए ।

त्रिवेणी, मनमङ र नीलदहमा पक्की पुल जगदुल्ला जलविद्युत् आयोजनाले बनाउने छ । आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न २०७७ पुसमा सार्वजनिक सूचना प्रकाशित गरी प्रभावित क्षेत्रको विवरण दिन आग्रह गरिएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया