लामो समयदेखि सर्वसाधारणको चासोमा रहेका बागलुङ–कुश्मीशेरा सडकमा कालोपत्रको काम शुरु भएको छ । तीन चरणमा काम हुने भएकाले डेढ महिनामा काम सकिने योजना रहेको छ ।
स्तरोन्नतिको काम सकेर निर्माण कम्पनीले तापक्रम पुगेसँगै कालोपत्र विछ्याउन शुरु गरेको हो । बागलुङ बजारदेखि कुश्मीसेरा जाने सडकको दश किलोमिटर खण्ड कालोपत्र हुँदैछ । गण्डकी प्रदेश सरकारको लगानीमा यो सडक कालोपत्र हुन थालेको हो ।
यो सडक ट्र्याक खुलेको दुई दशकपछि कालोपत्र हुन लागेको हो । गण्डकी प्रदेश सरकारले स्तरीकरणमा प्रादेशिक सडक ‘क’ वर्गमा परेको यो सडक कालोपत्र हुँदा जिल्लाको दक्षिण क्षेत्रका सर्वसाधारणलाई सहज हुनेछ । अहिले सडकमा सवारीको आवागमन रोकेर प्राइमकोट विछ्याउने काम भइरहेको छ ।
पहिलो चरणमा बागलुङ नगरपालिका–१३ पाग्जादेखि वडा नं १४ को पानी ट्याङ्कीसम्मको काम सकिने छ । दोस्रो चरणमा पानी ट्याङ्कीदेखि वडा नं १२ को सरङ्गेसम्मको काम सकिने छ । २०७५ असारमा बोलपत्र प्रक्रिया थालिएको यो सडकको १० किलोमिटर खण्डको काम २०७६ भदौ १० गतेदेखि शुरु भएको थियोे ।
मालढङ्गाभन्दा केही अगाडि कालीगण्डकी करिडोरदेखि पाग्जासम्मको झण्डै चार किलोमिटर सडक २०७३ सालमा कालोपत्र भएको थियो । सडक विभागले पक्की बनाएको उक्त सडकको अन्तिम बिन्दुदेखि कुश्मीशेरातर्फ १० किलोमिटर खण्ड कालोपत्रको काम शुरु भएको हो ।
पाग्जादेखि टाकुरीसम्मको सडकबाहेक टाकुरीदेखि कुश्मीसेरासम्म पनि यसअघिनै कालोपत्र भइसकेको छ । भौतिक पूर्वाधार मन्त्रालयको रु २६ करोडको लगानीमा यो सडक कालोपत्र हुँदैछ । २०७८ साल असोज मसान्तसम्म काम सम्पन्न गर्नेगरी निर्माणको जिम्मेबारी लिएको कम्पनीले पाँच महिना पहिले नै काम सक्नेगरी धमाधम काम गरिरहेको हो ।
सडक स्तरोन्नतिको काम दुई महिना पहिलै सकिएको भए पनि कालोपत्रका लागि तापक्रम पुग्नुपर्ने भएकाले फागुन पर्खनु परेको थियो । सडकमा कालोपत्र विछ्याउन थालेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।
तत्कालीन जिविसले २०५४ मा निर्माण थालेको यो सडकखण्ड २२ वर्ष पुग्दा पनि हिलाम्मे र धुलाम्मे थियो । यो सडकखण्डमा कति रकम खर्च भयो भन्ने यकिन तथ्याङ्कसमेत अझै कतै भेट्न सकिंदैन । कहिले जिविस, कहिले आरआइडिपी, कहिले ड्रिलीप र कहिले स्थानीय तहको बजेट लगानी परेको थियो ।
प्रतिक्रिया