काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारी ५ दिने कतार भ्रमणको सिलसिलामा सोमबार कतार प्रस्थान गरेकी छिन् ।
भण्डारी कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
यस्तो छ कार्यक्रम
भ्रमणका क्रममा कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता हुनेछ ।त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा अमिरले रात्रीभोजको आयोजना गर्नेमन्त्रालयले जनाएको छ ।
भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीसँग कतार फाउन्डेशनका सहसंस्थापक तथा अध्यक्ष शेख मोजा बिन नासेरले शिष्टाचार भेट गर्नेछन् ।
यस्तै राष्ट्रपति भण्डारीले व्यापारिक समुदायसँग संयुक्त अन्तरक्रियात्मक बैठकमा ‘व्यापार तथा नेपालमा लगानीको अवसर’का विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यहाँस्थित नेपाली दूतावासमा पुगी नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । त्यस दिन नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।
भ्रमणमा राष्ट्रपति भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुनेछन् ।
भण्डारी कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।
जनतालाई सास्ती
उनी कतार जाने क्रममा बिहान राजधानीका विभिन्न रुटमा सवारी बन्द गरिँदा सर्वसाधारणले सास्ती भोग्न बाध्य भए ।
उनको सवारी हुने रुट शितल निवास, शिवपुरी स्कुल, बालुवाटार,छातागणेश, नक्साल भगवती,लोत्से चोक,रातोपुल,गौशाला,तिलगंगा,एयरपोर्ट गेट आसपास भएर चल्ने सवारी साधनहरुको आवागमन दुइतर्फीरुपमा प्रभावित हुभएका थिए ।
प्रतिक्रिया