किन सरकारसँग वार्ताको लागि तयार भयो विप्लव समूह ?

४ बर्ष अगाडि

काठमाडौं - प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द विप्लव समुह सरकार सँग वार्ता गर्न तयार भएको छ । विभिन्न चार प्रकारका संयन्त्रमार्फत कुराकानी भएपछि वार्ता गर्न तयार भएको हो । 

तर, उसले वार्ताका लागि पार्टीमाथि लगाइएको प्रतिबन्ध खोल्नु पर्ने सर्त राखेको छ । त्यस विषयमा सरकार पनि लचिलो भएको छ । सरकारले चन्दका प्रतिनिधिहरूलाई सहज हुने वातावरण बनाउने बचन दिएको छ । 

सरकारले विप्लव समुहका लागि सहज हुनेगरि वातावरण निर्माण गर्ने बचन दिएका गृह मन्त्रालयको स्रोतले जनाएको छ । कार्यकर्तालाई पक्राउ नगर्न आन्तरिक सर्कुलर जारी गर्ने वा प्रतिबन्ध फुकुवा गर्ने बारे निर्णय अबको मन्त्रिपरिषद् बैठकले गर्ने बताइएको छ । 

स्रोतका अनुसार अहिले चार फरक९फरक संयन्त्रमार्फत प्रतिबन्धित नेकपासँग सरकारले कुराकानी गरिरहेको छ । पहिलो संयन्त्र जेलमा रहेका नेताहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीमार्फत सरकारले कुराकानी गरिरहेको छ । केही समयअघि खानेपानी मन्त्री मणि थापाले नख्खु जेलमा रहेका नेता ओलीलाई भेटेको तथ्य बाहिरिएको थियो ।  

सरकारले अर्कोतर्फ वार्ताको वातावरण निर्माण गर्न भन्दै पक्राउ परेका नेता अनिल शर्मा विरहीलाई छोडेको थियो । त्यस्तै चन्द र सरकारलाई नजिक्याउन पहिले चन्दको पार्टीका काम गरेका र अहिले अलग भएकाहरूले पनि कुराकानी गरिरहेको स्रोतले जनाएको छ ।  

अहिले वार्ता कहिले र कसरी गर्ने भन्‍ने विषयमा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीका प्रतिनिधिहरू र चन्दका प्रतिनिधिहरूबीच कुराकानी भइरहेको र त्यसलाई अब मन्त्रिपरिषद् बैठक बस्‍नु अगावै टुङ्गोमा पुर्‍याइने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया