काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले आपतकालीन समयमा प्रयोग हुने तीन वटा नम्बरलाई एउटै बनाउने भएको छ । उक्त नम्बरहरु प्रहरीको १००, दमकलको १०१ र एम्बुलेन्सको १०२ लाई एकीकृत गरी एउटै बनाउने तयारी अन्तिम चरणमा पुगेको हो ।
प्राधिकरणका अनुसार यसका लागि प्राधिकरणले आवश्यक कार्यविधि निमार्ण गरी एक हप्ताअघि मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको छ । उक्त कार्यविधि अनुसार अब प्रहरी, दमकल र एम्बुलेन्सको एउटै नम्बर १०० हुनेछ ।
अब इमर्जेन्सी नम्बरको रुपमा अब १०० डायल गरी त्यसैमार्फत आवश्यक परेको खण्डमा प्रहरी, एम्बुलेन्स र दमकल जस्ता आपतकालीन सेवाका लागि सम्पर्क गर्न सकिने छ ।
प्राधिकरणले आईटीयूको स्ट्याण्डर्ड ‘ई.१६४’ अनुसार सबै आपतकालीन सेवामा प्रयोग हुने नम्बरलाई एउटै बनाउन लागेको हो । आईटीयुको स्ट्याण्डर्ड ‘ई.१६४’ अनुसार सबै देशमा यस्ता इमर्जेन्सी सेवा अर्थात पब्लिक सर्भिस एनसरिङ प्वाइन्ट (पीएसएपी) का लागि एउटै नम्बर लागू हुने व्यवस्था छ ।
यसै कारण नेपालमा पनि यो सेवा लागू हुन लागेको हो । नेपालमा १०० नम्बर सबैको सम्झानामा रहेकाले यसैलाई प्रयोगमा ल्याउन लागिएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया