पूँजीबजार विकास अभियानमा १८ बुँदे मागसहित आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइरालाले अनसन तोडेका छन् ।
आज साढे ४ बजे नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाको उपस्थितिमा अनसन तोडेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले जानकारी दिएका छन् ।
बोर्डले लगानीकर्ताले कार्यान्वयनको माग गरेका बुँदाहरु कार्यान्वयनकै चरणमा रहेको भन्दै अनसन तोड्न आग्रह गरेको थियो।
सुगरका रोगी कोइराला निरन्तर चार दिनदेखि नेप्सेको कार्यालय अघि आमरण अनसनमा बसेका थिए । डेढवर्ष अघि पनि पूर्ण अनलाईन कारोबार प्रणाली लागू गर्नुपर्ने, ब्रोकर कमिसन घटाउनुपर्ने लगायतका माग गर्दै कोइरालासहितको टोलीले रिले अनसनदेखि आमरण अनसनको कार्यक्रम गरेका थिए ।
लगानीकर्ताको चर्को दबाबपछि नेपाल सरकार अर्थ मन्त्रालयले एक सुझाब समिति गठन गरी ५८ ओटा बुँदे सुझाब कार्यान्वयनका लागि बोर्डसमक्ष पेश गरेको थियो । उक्त सुझाब समितिले दिएको ५८ ओटा बुँदामध्ये एक वर्षअघिनै पुरा गर्नुपर्ने १८ ओटा बुँदाहरु हालसम्म पनि कार्यान्वयन नभएको भन्दै दबाब दिन आमरण अनसन शुरु गरिएको थियो ।
१८ ओटा बुँदामध्ये पहिलो प्राथमिकता मापदण्ड पुरा गर्ने वाणिज्य बैंकहरुलाई सहायक कम्पनीमार्फत ब्रोकरको काम गर्न दिने कार्यलाई यथाशिघ्र कार्यान्वयन गर्न लगानीकर्ताहरुले माग गरेका छन् ।
प्रतिक्रिया