तीन वर्षमा भएका हवाई पूर्वाधारका यी उपलब्धि !

५ बर्ष अगाडि

सरकारको तीन वर्षे अवधिमा हवाई पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सार्वजनिक गरेको सरकारको प्रगति विवरणअनुसार मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग पुनःनिर्माण गरिएको छ ।

विमानस्थलको धावन मार्गको जीर्णोद्वार गरिएको हो । यो पुनःनिमाण ४० वर्षपछि तोकिएको समयभित्रै सम्पन्न भएको आयोजना हो । यस अवधिमा नेपालका ५३ विमानस्थलमध्ये बाह्रै महिना सञ्चालन हुने विमानस्थलको सङ्ख्या २९ बाट ३६ पुगेको छ । यीमध्ये रात्रिकालीन उडानयोग्य विमानस्थलको सङ्ख्या आठ पुगेको छ । विराटनगर, सुर्खेत र महेन्द्रनगर विमानस्थललाई प्रदेश र स्थानीय तहसँग समन्वय गरी विस्तारको काम अघि बढाइएको छ । धनगढी, काठमाडौँ, जनकपुर, विराटनगर र भद्रपुर विमानस्थलमा प्रतिकूल मौसमको समयमा पनि भूउपग्रहमार्फत उडान तथा अवतरण हुने प्रणालीको स्थापना गरिएको छ । 
    
क्यानको २२औँ वार्षिक प्रगति विवरणमा आव २०७६÷७७ मा पूँजीगत खर्चतर्फ रु ३४ अर्ब चार करोड ३७ लाख र कार्यसञ्चालन खर्च रु आठ अर्ब १८ करोड ८४ लाख गरी जम्मा ३८ अर्ब २३ करोड ११ लाख व्यय अनुमान गरिएकामा पूँजीगत खर्च रु १५ अर्ब ४१ करोड २९ लाख छ । चालू आव २०७७/७८ का लागि पूँजीगत खर्च तर्फ रु २८ अर्ब ९२ करोड २७ लाख तथा कार्य सञ्चालनतर्फ रु तीन अर्ब ६६ करोड गरी जम्मा रु ३२ अर्ब ५८ करोड ९३ लाख विनियोजन गरिएको छ । 
    
विसं २०७२ को गोरखा (७.६ रेक्टर) भूकम्पपछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्रले पछिल्ला वर्षमा गति लियो । विसं २०७४ संविधानसभाको निर्वाचनपछि स्थायी सरकार बन्यो । त्यसको सकारात्मक असर पर्यटन क्षेत्रमा देखिएको छ । पछिल्ला वर्षमा नेपालमा पर्यटकको आगमन बढेको छ । 

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१७ मा १० लाख, सन् २०१८ मा १२ लाख हाराहारी र सन् २०१९ मा झण्डै सोही सङ्ख्यामा विदेशी पर्यटन नेपाल भ्रमणमा आएका छन् । सन् २०२० मा कोभिड महामारीका कारण विदेशी पर्यटकको सङ्ख्यामा करीब ८० प्रतिशत गिरावट आएको छ । यस अवधिमा करीब दुई लाख मात्र विदेशी नेपाल आएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया