विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोकाको पुनःनिर्माणले गति लियो

४ बर्ष अगाडि

काठमाडौं - सहजरूपमा काठ आउन थालेपछि विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ दरबार क्षेत्र (हनुमानढोका क्षेत्र) का ऐतिहासिक सम्पदा पुनःनिर्माणले गति लिएको छ । 

दुई महिनाअघि लामो काठको अभावमा निर्माण भइरहेका एतिहासिक सम्पदाको काम अघि बढ्न सकेको थिएन । विगत दुई हप्ताअघिदेखि काठ आयातमा सहज भएपछि निर्माणको कामले पुनः गति लिएको हो ।

ठूला र लामो काठको अभावमा यस क्षेत्रको नौतले दरबार र दश अवतार मन्दिरको काम अवरुद्ध भएको थियो । अहिले ती दुवै सम्पदाको निर्माणको काम तीव्ररुपमा भइरहेको छ । यी दुवै सम्पदा निर्माणका लागि १० फिटभन्दा लामा काठ आवश्यक परेको थियो । 

निर्माणको चरणमा रहेको ऐतिहासिक नौतले दरबारको निर्माणको काम ८० प्रतिशत र दश अवतार मन्दिरको ७० प्रतिशत काम सम्पन्न भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए । 

यस क्षेत्रका २७ सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० सम्पदामध्ये १२ वटामा भूकम्पले क्षति गरेको थिएन । भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनःनिर्माण भइरहेको अड्डाले जनाएको छ । 
 
प्रमुख खनालका अनुसार अहिले बनिरहेका सम्पदाको काम नसकी काम शुरु गर्न नमिल्ने भएकाले २० सम्पदाको काम अझै हुन सकेको छैन । हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको छ । 

कोरोना महामारीका कारण नौतले दरबार पुनःनिर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ । 

यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनःनिर्माण सम्पन्न भइसकेको छ । जगन्नाथ र गोपीनाथ मन्दिर वाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनःनिर्माण भइरहेको छ । 

नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमार्फत पुनःनिर्माण भइरहेको छ । 

आगम्छे घर र शिव मन्दिर जापानी सहयोग नियोग ९जाइका० को अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको बताइएको छ । मोनकाली चोक, मूलचोक, नासल चोकलगायतको चोक यहाँका अन्य महत्वपूर्ण सम्पदा हुन् ।  

४ बर्ष अगाडि

प्रतिक्रिया