काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुहरुले इन्टरनेटको मूल्य बढाउने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल विद्युत प्राधिकरणले विद्युतीय पोलको भाडादर बृद्धि गरेकोले सो भाडादर नघटाएमा इन्टरनेटको मूल्य बढाउने चेतावनी दिएका हुन् ।
मन्त्री गुरुङले केही समय इन्टरनेट सेवा प्रदायकसँग डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि आवश्यक कुरा र त्यसका लागि सरकारले चाल्नुपर्ने कदमबारे सुझाव दिन आग्रह गरेका थिए । इन्टरनेट सेवा प्रदायकहरुहरुले सुझाव सहितको ज्ञापनपत्र बुझाउँदै आफ्नो समस्या राखेर मूल्य बढाउने चेतावनी दिएका छन् ।
डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि आवश्यक मेरुणण्ड भएले इन्टरनेटलाई सर्वसुलभ बनाउन आवश्यक भएको भन्दै उनीहरुले पोलको भाडादर घटाउन पनि माग गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणले आफ्नो ओपीजी फाइबरमा भाडादर वृद्धि गरी एक वर्षमा प्रति किमि कर बाहेक ३२ हजार पुर्याएको छ । जुन पहिलेको तुलनामा दोब्बर हो । यसरी विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय नै नगरी एकतर्फी रुपमा विद्युत पोलको भाडादर बढाउँदा इन्टरनेमा असर परेको सो पत्रमा उल्लेख छ ।
यसले इन्टरनेट सेवा प्रदायकलाई ठूलो मार परेको भन्दै उनीहरुले उपभोक्तालाई मूल्य बढाएर त्यसको असुलउपर गर्ने घुमाउरो पारामा चेतावनी दिएका छन् । ‘यसले नागरिकमा इन्टरनेटको पहुँच पुर्याउन गाह्रो अवस्थातर्फ धकेल्ने छ,’ विज्ञप्तिमा जनाइएको छ ।
उनीहरुले विद्युत प्राधिकरणले फाइबर भाडा १० हजार रुपैयाँ भन्दा कममा बनाउनुपर्ने, पोलको भाडादर महानगरपालिका र उपमहानगरपालिकामा प्रति पोल प्रति वर्ष २५० रुपैयाँ, नगरपालिकामा १५० रुपैयाँ प्रति पोल प्रतिवर्ष र गाउँपालिकामा प्रति पोल प्रतिवर्ष ५० रुपैयाँ कायम गर्नुपर्ने भाग समेत गरेका छन् । इन्टरनेटमा लागाइँदै आएको कर्पोरेट ट्याक्स पनि घटाउनुपर्ने उनीहरुको माग छ । रोयल्टी रकम ४ प्रतिशतबाट २ प्रतिशतमा झार्न र आरटीडीएफ २ प्रतिशतबाट १ प्रतिशतमा झार्नुपर्ने पनि उनीहरुको माग छ ।
प्रतिक्रिया