ताप्लेजुङ - संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रर्वद्धनका लागि देशभरका २ सय पर्यटकीय गन्तव्य छनौट गरेको छ ।
छनौट भएका २ सय पर्यटकी गन्तव्यमध्ये ताप्लेजुङका ३ वटा छन् । जसमा फुङलिङ नगरपालिका–६ स्थित बहुसंस्कृतिक सङ्ग्राहलय, सिरीजंघा गाउँपालिका–८ याम्फुदिनस्थित कंञ्चनजंघा बेसक्याम्पको पैदलमार्ग र मैवाखोला गाउँपालिकाको गुराँस पार्क रहेको छ ।
बहुसंस्कृतिक संग्राहलयका लागि ४ करोड ५५ लाख रुपैयाँ स्वीकृत भएको छ । ७ करोड लागत स्टमेट भएकाले बाँकी २ करोड ४५ लाख फुङलिङ नगरपालिकाले उपलब्ध गराउने बताइएको छ । नगर प्रमुख छत्रपति प्याकुरेलका अनुसार चालु आर्थिक वर्षमा निर्माण प्रारम्भ हुने निश्चित भएको छ ।
सिरीजंघा गाउँपालिकास्थित याम्फुदिनदेखि कंञ्चनजंघा बेसक्याम्प पैदलमार्गका लागि ३ करोड ५० लाख विनियोजन भएको छ । याम्फुदिनको आम्जी खोलाबाट नयाँ झोरेनी–तुप्लुङ–दुन्दु डाँडा–नगर्चा–चैराम हुँदै बेसक्याम्प जाने पैदलमार्ग स्तरोन्नति हुने गाउँपालिकाले जनाएको छ । जसमा गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ जुटाउने भएको छ ।
यसैगरी मैवाखोला गाउँपालिाको साँघुस्थित गुराँस पार्कका लागि २ करोड ८० लाख रुपैयाँ स्वीकृत भएको छ । १ करोड २० लाख गाउँपालिकाले जुटाउने छ ।
७ वटै प्रदेशका स्थानीय तहबाट प्रस्ताव आव्हान गरिएका मध्येबाट उक्त २ सय गन्तव्य छनौट गरेको हो । छनोट भएका गन्तव्यका लागि करिब ७ अर्ब रुपैयाँ स्वीकृत भएको सूची मन्त्रालयलले सार्वजनिक गरेको छ ।
पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रबद्र्धन गर्ने उद्देश्यले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी ९सञ्चालन तथा व्यवस्थापन० निर्देशिका, २०७७ अनुसार लागत साझेदारीमा आधारित कार्यक्रम हो । अधिकांश आयोजना ३ वर्षभित्रमा सम्पन्न गर्नुपर्ने छ ।
प्रतिक्रिया