शुक्रबारबाट आइपीओ निष्काशन गरेको महिला लघुवित्त ७ करोड नाफामा, कस्तो छ कम्पनी ?

५ बर्ष अगाडि

महिला लघुवित्त संस्थाले हिजो शुक्रबारबाट आइपीओ निष्काशन गरेको छ । 

संस्थाले लघुवित्तले ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्।

उक्त आइपीओमा फागुन ५ गते बुधबारसम्म आवेदन दिन सकिने छ ।

कम्पनी कस्तो ?

काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं। १३, साँगामा रजिष्टर्ड कार्यालय रहेको यस कम्पनीले  २०७५ कात्तिक १ गतेदेखि कारोबार सुरु गरेको थियो।

राष्ट्रिय स्तरको यस कम्पनीले  २९ जिल्लाहरुमा ५३ वटा शाखा कार्यालयहरु बाट आफ्ना ग्राहकका लागि सेवा प्रवाह गरेको छ ।

लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने मुख्य सेवाहरुमा ग्राहक सदस्यहरुबाट निक्षेप संकलन, कर्जा प्रवाह, रेमिट्यान्स भुक्तानी सेवा तथा अन्य वित्तिय सेवा रहेका छन्। साथै वित्तीय संस्थाले लगानीको माध्यमबाट आफ्नो पूँजीको सही उपयोग गर्दै आइरहेको छ ।

यस संस्थाको अधिकृत पूँजी बीस करोड रहेको छ ।  अहिले भने पूँजी दश करोड मात्र रहेको छ । उक्त १० करोड मध्य  संस्थापकहरुबाट छ करोड संकलन गरिएको हो भने बाँकी चार करोडका आइपीओ मार्फत शेयर निष्काशन गरिएको हो । 

आर्थिक वर्ष ७६/७७ मा कम्पनीको संचित मुनाफा ९ करोड ३५ लाख थियो भने खुद नाफा ३ करोड ४७ लाख थियो । आर्थिक वर्ष ७७/७८ को दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५ करोड ४३ लाख रहेको छ ।

यता चालु आवको अन्त्यसम्ममा कम्पनीले ७ करोड १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, आव २०७८/७९ मा १२ करोड ४२ लाख ६४ हजार रुपैयाँ र आव २०७९/८० मा १९ करोड ७० लाख ९३ हजार रुपैयाँ नाफा कमाउने अनुमान गरेको छ । 

त्यस्तै,कम्पनीले आर्थिक वर्ष ७६/७७ मा प्रति शेयर आम्दानी ५७.८५ रुपैयाँ भएको उल्लेख गरेको छ भने आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० मा क्रमश ५१.२३ रुपैयाँ, ६५.३७ रुपैयाँ र १०४.८२ रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया