वाग्मती प्रदेश सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ । आजभन्दा तीन वर्ष अघि माघ २९ गते मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा देशकै पहिलो प्रदेश सरकारको रुपमा वाग्मती प्रदेश सरकार गठन भएको थियो ।
यो अवधिमा सरकारले दुई हजार ५८३ किलोमिटर सडक निर्माण गरेको जनाएको छ । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलका अनुसार सरकारले ठूला योजनाकोसमेत काम थालनी गरेको छ । हेटौँडा काठमाडाँै जोड्ने मदन भण्डारी मार्गअन्तर्गत भीमफेदीदेखि कुलेखानीसम्म ३.२ किलोमिटरको सुरुङमार्ग निर्माणको काम थालनी गरेको छ ।
रु २० अर्ब खर्च हुने उक्त योजनाको अन्तर्राष्ट्रिय बोलपत्र आह्वानको तयारी अन्तिम चरणमा पुगेको मन्त्री फुयाँलले जानकारी दिए । त्यस्तै प्रदेश चक्रपथ, उपत्यका काँठ चक्रपथ लगायतका ठूला तथा महत्वकांक्षी योजना बनाएर काम गरिरहेको उनको भनाइ छ । सङ्घीय सरकारसँगको सहकार्य र समन्वयमा प्रदेशको रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, सिन्धुली र काभ्रे जिल्लालाई जोड्ने ५०० किलोमिटरको पुष्पलाल चक्रपथ नाम दिइएको प्रदेश चक्रपथको रु दुई करोड खर्च गरेर विस्तृत अध्ययन प्रतिवेदनसमेत तयार भएको छ ।
१० वर्षभित्र प्रदेशबाट पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय साधनले विस्थापित गराउने पहिलो नीति तथा कार्यक्रमअनुसार विद्युतीय सवारी सञ्चालनको काम अन्तिम चरणमा प्रवेश गरेको उनले जानकारी दिए । भौतिक पूर्वाधार विकास मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार प्रदेश सरकारले हालसम्म एक हजार ८४९ किलोमिटर कच्ची सडक, ४४५ किलोमिटर ग्राभेल खण्डस्मिथ सडक, २१९ किलोमिटर कालोपत्र सडक, ८० किलोमिटर ढलान सडक निर्माण सम्पन्न गरेको छ ।
त्यस्तै ३३ वटा सडक पुल निर्माण भएको र करीब एकसय अन्य पुल निर्माणाधीन छन् । त्यस्तै एक हजार ३०१ किलोमिटर सडक र ५२ वटा सडक पुलको सर्भे सम्पन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार राजमार्ग तथा मुख्य कालोपत्र सडकदेखि जिल्ला सदरमुकाम तथा स्थानीय तहको केन्द्र जोड्ने सडकलाई स्तरोन्नति गर्दै आगामी चार वर्षभित्र कालोपत्र गरिसक्ने नीतिलाई सघाउ पुग्ने गरी १८ वटा स्थानीय तहको केन्द्र जोड्ने प्रादेशिक लोकमार्गको कूल १९३ किलोमिटर अन्य महत्वपूर्ण प्रादेशिक लोकमार्ग र आर्थिक केन्द्र जोड्ने सडक आयोजनाको कूल २०० किलोमिटर गरी जम्मा ३९३ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ ।
त्यस्तै मन्त्रालयले शुद्ध खानेपानीको उपलब्धता जनताको अधिकार भएकाले प्रदेश सरकारले शुद्ध पानी पिउने व्यवस्थाको लागि कार्य गरको जनाएको छ । पानीका कारण लाग्ने विभिन्न सरुवा रोग न्यूनीकरण गर्न तथा खानेपानी घर–घरमा पु¥याउन योजना अगाडि सारिएको मन्त्रालयले जानकारी दिएको छ । यस योजनाअन्तर्गत ३३ खानेपानीका आयोजना सम्पन्न भएका छन भने गण्ुास्तर सुधार गरिएका आयोजना २८ छन् । यस्तै २५ वटा खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन गरिएको छ । मन्त्रालयका अनुसार कूल एकसय ९ वटा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । “एक घर एक धारा” कार्यक्रम अन्तर्गत प्रदेशका ७४ हजार १५६ परिवार प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
प्रतिक्रिया