काठमाडौं : सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा गर्दै यो वर्षमा बजेटको ९१.१९ प्रतिशत खर्च हुने प्रक्षेपण गरेको हो ।
यो वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैंयाँ बराबरको बजेट ल्याइएको थियो । समध्ये १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैंया खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ ।
चालु आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्बको बजेट ल्याएको सरकारले सात महिना सकिनै लाग्दा समग्र बजेटको ३३.१८ प्रतिशत मात्र खर्च गर्न सकेको थियो । यो गत पाँच वर्ष यताकै सबैभन्दा कम हो ।
सरकारले यही वर्ष नै प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेको छ, कोभिड–१९ विरूद्धको खोप पनि यो वर्ष शुरु भएको छ । यी दुबै ठूला योजना बजेट बाहिरका खर्च हुन । तर पनि सरकारले विनियोजित बजेट पूरा खर्च गर्न सक्ने अबस्था नदेखेर बजेटको आकार घटाउनु दुःखको कुरा रहेको अर्थविद्हरु बताउँछन् ।
अर्थवार्षिक समिक्षा पछिको प्रक्षेपणपछि चालूतर्फ विनीयोजित बजेटको ९६.४० प्रतिशत अर्थात ९ खर्ब १४ अर्ब ७८ करोड रुपैयाँ, पुँजीगततर्फ विनियोजित बजेटको ८०.२० प्रतिशत अर्थात २ खर्ब ८३ अर्ब ४ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ विनीयोजीतको ८५ प्रतिशत अर्थात १ खर्ब ४६ अर्ब ८६ करोड रुपैयाँ खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ ।
चालु वर्षको अन्त्यसम्मा सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण) १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानतर्फ ३५ अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २ खर्ब ३५ अर्ब खर्च हुने संशोधित अनुमान छ ।
प्रतिक्रिया