सिंचाईमन्त्री वर्षमान पुन सर्विया प्रस्थान

७ बर्ष अगाडि

काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन सर्वियाली सरकारको निमनत्रणामा बेलग्रेट प्रस्थान गरेका छन् ।

सर्वियाको बेलग्रेटमा आयोजना हुन लागेको युरो एसियन इनर्जी सेक्युरिटी फोरमको सम्मेलनमा भाग लिन मन्त्री पुन बिहीवार बिहान त्यसतर्फ प्रस्थान गरेको मन्त्री पुनको सचिवालयले जनाएको छ । 

सम्मेलन शुक्रवार र शनिवार दुई दिनसम्म चल्नेछ । 

मन्त्री पुनसँगै उर्जामन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव दिनेश घिमिरे र निजी सचिवालयमा कार्यरत शाखा अधिकृत कमानसिंह थापा भ्रमण दलमा सहभागी छन् ।

सम्मेलनलाई मन्त्री पुनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसका साथै उनले आफ्ना समकक्षी उर्जा र माइन हेर्ने सर्वियाका मन्त्री एलेकजेण्डर एण्टिकसँग द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । 

भ्रमणका क्रममा मन्त्री पुनले त्यहाँका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको पुनका प्रेस संयोजक रोशन खड्काले बताए ।

सम्मेलनमा युरोप र एसियाका विभिन्न देशका मन्त्री र उच्च अधिकारीको सहभागीता रहनेछ । सम्मेलनमा नेपालको उर्जा क्षेत्रको अवस्था र लगानीको सम्भावनाबारे मन्त्री पुनले जानकारी गराउने कार्यक्रम रहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया