प्रदेश १ को प्रदेशसभा बैठक आज, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा उभिने कांग्रेसको संकेत

५ बर्ष अगाडि

विराटनगर - प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।

नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर बैठक स्थगित भएको थियो । 

बैठक अघि आइतबार बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड(माधव समूहका १६ जना सांसदलाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ । 

मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा उभिने नेपाली कांग्रेसले संकेत दिएको छ । अविश्वासको प्रस्तावको पक्षमा उभिने कांग्रेसको संकेतपछि प्रचण्ड-माधव समूह आइतबारकै बैठकमा अविश्वासको प्रस्ताव टेबुल गराएर छलफल गर्नुपर्ने पक्षमा छ ।

तर ओली समूह भने संसद् बैठक लम्ब्याउने पक्षमा छ । आइतबार १६ जनालाई प्रवेश दिइए बैठक रोक्ने र जारी अधिवेशनको तेस्रो बैठक पार्टी विभाजनले औपचारिकता पाएपछि हुनुपर्ने पक्षमा ओली समूह छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया