माघ २८ गतेदेखि महिला लघुवित्तले आईपीओ निष्काशन गर्दै

५ बर्ष अगाडि

काठमाडौं- महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।

लघुवित्तले ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा छिटोमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभरीमा पूर्ण आवेदन नपरेमा फागुन १२ गतेसम्म निष्काशन खुला गरिने लघुवित्तले जनाएको छ। लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ। यस ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।

५ बर्ष अगाडि

प्रतिक्रिया