भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सडक जोगाउनका लागि सडकमा तौलपुल राख्न थालिएको बताएका छन् । सडक विभागले भरतपुरको आँपटारीमा स्थापना गरेको तौलपुलको आज उद्घाटन गर्दै उनले यसले सडक जोगाउने र दुर्घटना हुनबाट रोक्ने बताए ।
सडक सुधारका कामहरु भइरहेको भन्दै उनले बढी ढुवानी गर्ने सवारी साधनले सडक नबिगारोस् भन्नका लागि तौलपुल राखिएको जानकारी दिए । उजले भने, “बाटोको क्षमताभन्दा बढी तौल बोकेका सवारी साधनले सडक बिगार्ने र दुर्घटना निम्त्याउने हुँदा रोक्न तौलपुल राखिएको हो ।”
नारायणगढ–मुग्लिन सडकखण्डको आँपटारीमा नेपाल सरकारका तर्फबाट पहिलो तौलपुल राखिएको जनाउँदै उनले यातायात क्षेत्र र ढुवानी क्षेत्रलाई यसले व्यवस्थित गर्ने बताए। ठूलाठूला राजमार्गमा पनि तौलपुल राखिने उनको भनाइ थियो । उनले थपे, “नेपालमा पहिलो इलेक्ट्रिक टोलको ठेक्का व्यवस्थापन गर्न गइरहेका छौँ ।”
नयाँ बन्न लागेका सडक अहिलेको युगसँगै प्रविधि मैत्री बन्दै जाने मन्त्री नेम्वाङले जानकारी दिए। उनले भने, “नयाँ सडक प्रविधि मैत्री वनाउँछौँ ।” देशभरमा १० सिक्नेचर पुल बनाउन लागिएको भन्दै उनले यस क्षेत्रमा नारायणी नदीमा आकर्षक सिक्नेचर पुल बन्ने जानकारी दिए ।
कार्यक्रमपछि पत्रकारसँग कुराकानी गर्दै उनले भरतपुरमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि आफू सकारात्मक रहेको बताए । उनले आवश्यक प्रक्रिया पूरा गर्नका लागि मन्त्रालय तयार रहेको जनाए । सो सडक हुँदै आवतजावत गर्ने मालवाहक सवारी साधनलाई तौलपुलमा तौल लिइनेछ ।
सडकको क्षमताभन्दा बढी सामान बोकेका सवारीबाट सामग्री झारेर कारबाही गरेर पठाइने बताइएको छ । कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक गगनबहादुर हमालले पुलले सडक दुर्घटना घटाउने र सडकको आयु बढाउने बताए ।
विभागका निर्देशक इ।रामचन्द्र पौडेलले मालवाहक ठूला ट्रकले क्षमताभन्दा बढी सामान बोकेका कारण समस्या हुँदै आएको जानकारी दिए । सो तौलपुल रु एक करोड २१ लाख ७३ हजारमा जडान गरिएको हो । तौलपुलको क्षमता ८० टन रहेको छ ।
प्रतिक्रिया