आइपीओ बाँडफाँड पछिको सेयर सूचीकरण गर्न चन्द्रागिरी हिल्स लिमिटेडले आगामी साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कागजात पेश गर्ने भएको छ ।
कम्पनीले सबै काजगात तयार गरेर आगामी साता नेप्सेसँग सूचीकरण सम्झौता गर्ने तयारी गरेको हो ।
चन्द्रागिरी हिल्सले गत शुक्रबार सर्वसाधारणलाई जारी गरेको १३ लाख ९६ हजार २२ कित्ता आइपीओ बाँडफाँट गरेको थियो ।
कम्पनीले पुस २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १५ लाख ३४ हजार ११ कित्ता सेयर बिक्रीमा ल्याएकोमा ६१ हजार ३६४ कित्ता कर्मचारी र ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्टयाइएको थियो ।
यसैबीच चन्द्रागिरीले सेयर सूचीकरण सम्बन्धी कार्य गर्नका लागि ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ।
आज बिहीबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा चन्द्रागिरी हिल्स र ग्लोबल आईएमई क्यापिटलबीच सेयर रजिष्टारसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा चन्द्रागिरी हिल्सका तर्फबाट वित्त प्रमुख विष्णु गौतम र क्यापिटलका तर्फबाट सीईओ पारसमणि ढकालले हस्ताक्षर गरेका छन्।
स्थानीय बासिन्दा र सर्वसाधारणमा सेयर जारी गरेको चन्द्रागिरी हिल्सले सेयर आवेदन गर्ने सबैलाई १ वर्षसम्म केबुलकारको टिकट यात्रामा २५ प्रतिशत छुट दिएको छ।
चन्द्रागिरी हिल्सको अधिकृत पूँजी २ अर्ब रुपैयाँ रहेको छ भने चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रहेको छ।
प्रतिक्रिया