यती र बुद्ध एयरको यात्रामा सास्ती, विमास्थलमा कुर्दाकुर्दै बित्यो दिन

७ बर्ष अगाडि

दशैंको समयमा विमानसेवा कम्पनीहरुले मनपरि गर्ने गरेको पाइएको छ । विमानकम्पनीको मनपरिका कारण त्रिभुवन विमानस्थल भएर बाहिरिने यात्रुले सास्ती बेहोर्नु परेको छ । 
यात्रुहरुका अनुसार विमानकम्पनीहरुले समयमा उडान नगर्दा दिनहुँ हजारौं यात्रुले सास्ती बेहोर्न परेको छ ।  अहिले विमानस्थलमा कम्तीमा पनि यात्रुले २ घण्टासम्म पर्खनु परेको अवस्था छ । 
विमानमध्ये अझ बुद्ध एयर र यती एयरलाइन्सको विमानमा बढी मनपरी हुने गरेको यात्रुहरुले बताएका छन् । 
एक यात्रुले भने– बुद्ध र यतीको जहाजमा सबैभन्दा ढिलाई हुन्छ ।  दशैंको मुखमा महंगोमा टिकट काटेर यात्रुलाई समयमा उडाइरहेका छैनन् । 
यसो त दशैँ आउन १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको जनाएका थिए । 
तर अहिले बुकिङ भन्दा बाहेकै उनीहरुले विमान उडाइरहेको बताइएके छ । 

बुद्ध एयर, यती एयर, श्री एयर, सौर्य एयरलगायतले दशैँका लागि टिकट बिक्री गरिसकेको जनाएको छ । घटस्थापनासम्म सामान्य अवस्था र फूलपाती अघिसम्म केही सुगम गन्तब्यमा मात्र टिकट पाउन सकिनेछ । अष्टमी, नवमी र दशमीसम्म यात्रुले टिकट पाउने छैनन् । तुम्लिङटारलगायतका गन्तब्यमा दुईसाता अघिनै टिकट सकिएको वायु सेवा कम्पनीको भनाई छ । 

यती एयरलाइन्सको ७० प्रतिशत टिकट बुकिङ भइसकेको छ । कम्पनीका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले फूलपाती अघिसम्म सहज रुपमा टिकट पाइने उल्लेख गरे । 

यती एयरलाइन्सले तुम्लिङटार, भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, भरतपुर, पोखरा र नेपालगञ्जमा उडान भर्दै आएको छ । यतीको भगिनी संस्था तारा एयरले दूर्गम गन्तव्यमा उडान गर्छ । यतीसँग हाल तीन वटा एटीआर–७२–५०० र ६ वटा बीएई जेटस्ट्रीम ४१ विमानले उडान भर्नेछन् । यतीकै भगिनी संस्था तारा एयरसँग दुई वटा डोरनियर डीओ–२२८, दुई वटा ट्वीन अटर डीएचसी–३०० र २ वटा ट्वीन अटर भिकिङ ४०० सिरिज छन् । 

बुद्ध एयर कम्पनीसँग नौ वटा एटीआर र दुई विचक्राफ्ट विमान गरी ११ वटा विमान छन् । 

बुद्ध एयरले हाल १३ गन्तव्य भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया