सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेका सामुदायिक कुकुरका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा सामुदायिक तथा घरपालुवा कुकुरमा निःशुल्क बन्ध्याकरण रोग अन्वेषण तथा रेविजविरुद्ध खोप कार्यक्रम सञ्चालन गरिएको हो ।
कर्णालीमा प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका सामुदायिक कुकुरलाई पहिलोपटक बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।
सामुदायिक कुकुरका कारण राजमार्ग तथा अन्य सडकमा दुर्घटना बढ्ने, रेविज रोग फैलिन सक्ने भएकाले बन्ध्याकरणसहित रेविज रोगको खोप पनि लगाइने भएको छ ।
कुकुरका कारण विभिन्न समस्या हुने भएकाले कुकुरको सङ्ख्या घटाउन शिविर सञ्चालन गरिएको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा कृष्णराज पाण्डेले बताए। कुकुरको जनसङ्ख्या बढ्न नदिन तथा उचित व्यवस्थापनका लागि बन्ध्याकरण गर्न लागिएको प्रमुख उनको भनाइ छ ।
डा पाण्डेका अनुसार कर्णालीमा पहिलोपटक कुकुरलाई बन्ध्याकरण गर्न लागिएको हो । पहिलो चरणमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाभित्रका सामुदायिक कुकुरलाई खोप सञ्चालन गरिएको छ । शिविरका लागि आठ पशु चिकित्सक र प्राविधिक जनशक्तिको व्यवस्थापन गरिएको पशुपक्षी विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक मोहन गिरीले जानकारी दिए। शिविरमा ३०० बढी कुकुरलाई सेवा प्रवाह गरिने निर्देशक गिरीले बताए। सोमबार तथा मङ्गलबार बिहानसम्म करीब १५० वटा कुकुरको बन्ध्याकरण गरिएको थियो ।
बजारमा रहेका सामुदायिक कुकुरलाई भेटनरी एम्बुलेन्समार्फत निर्देशनालयमा ल्याएर निःशुल्क बन्ध्याकरण गरेर छोडिने गरिएको गिरीले जानकारी दिए। घरपालुका कुकुर सम्बन्धित घरधनी आफैँले लिएर शिविर स्थलमा आए पनि निःशुल्क बन्ध्याकरण गरिने उहाँको भनाइ छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, केन्द्रीय रिफरल पशु चिकित्सालय काठमाडौँ, पशुपक्षी रोग अन्वेशण प्रयोगशाला, वीरेन्द्रनगर नगरपालिका र पशुपक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो । निःशुल्क बन्ध्याकरण शिविर भोलि बुधबारसम्म सञ्चालन हुने निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया