धार्मिक एवं पर्यटकीय दृष्टिले उत्कृष्ट मानिने सिन्धुपाल्चोकको भैरवकुण्डको वरिपरि पर्खाल लगाइएको छ ।
भोटेकोशी गाउँपालिका–१ लिस्तीस्थित कुण्डको संरक्षणका लागि ७५० मिटर पर्खाल लगाउने काम सम्पन्न भएको हो । गाउँपालिकाको रु ५० लाख बजेटबाट बगामदेखि चोकरमोकरसम्म २५ किलोमिटर सडक सुधारसहित पोखरीको सुरक्षार्थ पर्खाल लगाएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।
कुण्ड र आसपास क्षेत्रमा अगाडि तीन वर्षभित्र बृहत् सुधारको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । पालिकाको बजेटले मात्र सम्भव नहुने भएकाले संस्कृति, पर्यटन तथा नागरिक उडड्यान मन्त्रालयमा थप बजेट माग गरिएकोमा मन्त्रायल पनि सकारात्मक देखिएको अध्यक्ष पौडेलले बताए ।
अरनिको राजमार्गको डाक्लाङबाट कुण्डसम्म ४५ किलोमिटर सडकमध्ये ३० किमी कच्ची सडक निर्माण भई यातायातसमेत सञ्चालन हुँदै आएको छ । बगामदेखि चोकरमोकर पुग्ने २५ किलोमिटर कच्ची सडकको सुधार गरिएको हो ।
पालिकाले आन्तरिक बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखे पनि कोभिड–१९ महामारीका कारण लक्ष्यअनुरुप प्रगति हुन नसकेको वडाध्यक्ष मुके शेर्पाले बताए। उनका अनुसार भैरवकुण्ड, लिस्तीभाइ, पाउगुम्बा र आनी गुम्बामा आउने पर्यटकको लागि तीन ठाउँमा घरबास सञ्चालन गरिएको छ । गौरीशङ्कर संरक्षण क्षेत्रभित्र पर्ने उक्त वडाको लिस्ती, थगाम र बगामका १३ घरमा संरक्षण क्षेत्रकै सहयोगमा यसै वर्षदेखि घरबास सञ्चालन गरिएको हो ।
समुद्री सतहबाट ४ हजार २५० मिटरको उचाइमा पर्ने भैरवकुण्डको क्षेत्रफल नापी विभागमा अनुसार ८४ हजार १९३ वर्गमिटरमा फैलिएको छ । जिल्लाको पाँचपोखरीभन्दा ठूलो र बढी उचाइमा पर्ने त्यस ठाउँमा प्रत्येक जनैपूर्णिमाका दिन भव्य मेला लाग्ने गर्दछ । भैरवकुण्ड लेकमा पर्ने उक्त कुण्डको अलावा सो वडाका विभिन्न स्थानमा धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका कारण चर्चित मानिन्छ ।
प्रतिक्रिया