आज आइतबार शेयर बजारमा हालसम्मकै धेरै ९ अर्ब ३७ करोडको कारोबार भएको छ। आज २०७ कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर खरीद बिक्री हुँदा ९ अर्ब ३७ करोडको कारोबार भएको हो ।
यसअघि गत मंसिर १४ गते एकैदिन सबैभन्दा धेरै ९ अर्ब २२ करोडको शेयर कारोबार भएको थियो । आज आइतबारको कारोबारले उक्त रेकर्ड तोड्दै नयाँ कीर्तिमान कायम भएको हो ।
आज विभिन्न कम्पनीको सेयर ७९ हजार ४९८ पटक किनबेच भएको थियो ।
सेयर बजार परिसूचकपनि बढेर आज ऐतिहासिक उचाई कायम भएको छ । आइतबार २३७४.६४ विन्दुबाट कारोबार शुरु भएको नेप्से ५०.२० अंकले बढेर २ हजार ४२४ दशमलव ८४ अंकमा पुगेर बन्द भएको छ ।
नेपाल धितोपत्र बोर्डले नागरिक स्टक डिलर कम्पनीलाई शेयर कारोबार गर्न अनुमति प्रदान गरेको र सिडिएस एण्ड क्लियरिङ्गले लिमिटेडले आइतबारदेखि शेयर बजारमा ‘टि प्लज टू’ अर्थात शेयर खरीद वा बिक्री गरेको शेयर दुई कार्य दिनमा राफसाफ गर्ने कार्य शुरु गरेकोले कारोबार वृद्धि भएको लगानीकर्ताहरुले बताएका छन् ।
त्यसका साथै बैंकिङ्ग प्रणालीमा प्रयाप्त तरलत बढ्नु, बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्नु, तथा कोरोना महामारीका बीच पनि सूचीकृत कम्पनीहरुको वित्तीय विवरणमा खास असर गरेको नदेखिएपछि शेयर बजारमा लगानीका लागि उपयुक्त माहोल बनेको हो । त्यसैले बजारमा शेयरको माग बढेको छ भने परिसूचक र कारोबार रकमले नयाँ उचाई चुम्दै गएको छ ।
आइतबार कारोबारमा आएका ब्यापार बाहेक सबै उपसमूहका सूचक बढेका छन् । अन्य ५ प्रतिशत धेरैले बढ्दा लघुवित्त र जलविद्युतको सूचक पनि २ प्रतिशत धेरैले बढेका छन् । बैंकिङ, होटल, वित्त, निर्जीबन बीमाको सूचकमा १ प्रतिशत धेरैको सुधार आएको छ ।
आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक पनि ६।४७ अंकले बढेर ४५२।०६ अंकमा बन्द भएको छ ।
प्रतिक्रिया