पछिल्लो ३ दिनमा मात्रै अनलाइन सेयर कारोबारका लागि खोलिने डिम्याट खाता खोल्नेको संख्या १ लाख नाघेको छ । माघ ४ गते देखि ६ गतेसम्म १ लाख ९ हजार ७ सय भन्दा धेरैले डिम्याट खाता खोलेका हुन् ।
डिम्याट खाता खोल्नेहरुको संख्या ह्वात्तै बढ्नुले लगानीको दोश्रो बजार शेयर कारोबारमा नेपालीहरुको आकर्षण बढ्दै गएको बुझ्न सकिने जानकारहरु बताउँछन् ।
नेपालमा एक वर्ष अगाडिसम्म करिव १७ लाखले डिम्याट खाता खोलेकोमा हिँजो माघ ७ गतेसम्म डिम्याट खाता खोल्नेको संख्या २६ लाख १० हजार ८६२ पुगेको सीडीएस एण्ड क्लियरिङ हाउसले जनाएको छ ।
यो भनेको १ वर्षको बीचमा डिम्याट खाता प्रयोग गर्नेको संख्या ९ लाख धेरै हो । पछिल्लो समय विभिन्न कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने साधारण शेयरको संख्या बढेसँगै लगानी गर्नेहरु पनि बढेका हुन् । पछिल्लो समय नेपाल इन्फ्रास्ट्रकचर बैंकले अहिलेसम्म कै सबैभन्दा धेरै साधारण सेयर (आईपीओ) जारी गरेसँगै डिम्याट खाता खोल्नेको संख्या पनि ह्वात्तै बढेको छ ।
आईपीओमा लगानी गर्नेमात्र होइन, शेयर कारोबार नियमित गर्न खोज्नेहरु पनि बढिरहेका छन् । तर नयाँ प्रवेशीहरुमध्ये धेरै ‘बुलिस ट्रेण्ड’ मा शेयर मार्केटमा पस्नेहरु छन् । ‘बुलिस ट्रेण्ड’ भनेको बजारको वस्तुस्थिति नबुझी एउटाले किनेको देखेर अर्काले किन्ने प्रवृत्ति हो ।
यसरी अरुको देखासिकीमा मात्रै शेयर बजारमा प्रवेश गर्नु राम्रो नभएको र यसले लगानी डुब्न सक्ने नेपाल इन्भेस्टर फोरमका पूर्व अध्यक्ष अम्बिका पौडेलको भनाई छ । । त्यसैले नयाँ लगानी कर्ता प्रवेश गर्दा कम्पनीको विश्लेषण गरेर राम्रा कम्पनी छान्न उनले सुझाव दिए ।
त्यसमा पनि अहिले अहिले नेपालको शेयर बजार अत्यधिक बढेको समयमा नयाँ लगानीकर्ताका लागि अत्यन्त जोखिमपूर्ण छ । नयाँ लागनीकर्ताले कम्पनीको राम्रो विश्लेषण गर्न नसक्ने भएकोले बजार घटेको समयमा प्रवेश गर्दा आफ्नो लगानी नडुब्ने नेपाल स्टक एक्सचेन्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउदको सुझाव छ ।
प्रतिक्रिया