अघिल्लाे शनिबार बाटोमा हिँडिरहेका सर्वसाधारणलाई उछिट्याएर भाग्ने शहरी विकासमन्त्री प्रभु साहले सिँहदरबामा अर्को उदण्डता देखाएको खुलासा भएको छ ।
मन्त्री भएको २ दिन नवित्दै उनले रौतहट जानका लागि आफ्नो पिएलाई गाडी उपलब्ध नगराएको झोंकमा शहरी विकास तथा भवन निर्माण विभागका सहसचिव चक्रवर्ती कण्ठको सरुवा गरेको पोल खुलेको हो ।
पुस १० गते शुक्रबार शपथ लिएर आइतबार सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा हाजिर भएका उनका पिएले रौतहट जान शहरी विकास तथा भवन निर्माण विभागसँग गाडी माग गरेका थिए ।
त्यहाँ निमित्त प्रमुखको जिम्मेवारीमा रहेका कण्ठले विभागले केही महिना अगाडिमात्र मन्त्री कृष्णगोपाल श्रेष्ठलाई नयाँ गाडी दिएकोले भर्खर अर्को गाडी उपलब्ध गराउन नसकिने जवाफ दिए ।
त्यही गाडी नपाएको झोंकमा कण्ठलाई विभागबाट लखेटेर उपत्यका विकास प्राधिकरणमा पुर्याइएको जनआस्थाले लेखेको छ ।
उनलाई एकाध घण्टामै मन्त्रालयबाट लखेटिएको मन्त्रालयका कर्मचारीहरु बताउँछन् । मन्त्रालय र विभाग स्रोतले उनको सरुवा गराएको पुष्टि गरेको छ ।
बुधबारदेखि नै उनी उपत्यका विकास प्राधिकरणमा हाजिर भइसकेका छन्। यद्यपि, यो विषयमा कण्ठले मुख खोल्न चाहेनन् ।
पीएलाई गाडी नदिएको झोकमा सहसचिवको सरुवा गर्ने मन्त्री साह १० पुसमा दिउँसोसम्म प्रचण्ड–माधव नेपाल समूहसँगै सडक आन्दोलनमा थिए । आन्दोलनकै क्रममा तारन्तार मोबाइलको घण्टी बज्यो ।
एउटै मोर्चामा रहेर आन्दोलनमा होमिएका जनार्दन शर्माले व्यंग्य हाने, बालुवाटारबाट मन्त्री बन्ने अफर हो कि क्या हो ? त्यहीँबाट मोबाइल अफ गरेर गायब भएका उनी आफ्नो समूहका नेतालाई चकित खुवाउँदै चार घण्टापछि नै शहरी विकास मन्त्रीको शपथ लिएका थिए ।
उनी सवार ना १ झ ३८४२ नम्बरको गाडीले पुस १८ गते पूर्व–पश्चिम राजमार्गको हरिवनमा सडकमा हिँडीरहेका लालबन्दी नगरपालिका वडा नम्बर–८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङलाई उछिट्याएर घाइते बनाएको थियो । रहेका छन्।
उनको कम्मर र खुट्टामा चोट लागेको र अस्पतालमा उपचार भइरहेको छ । गाडीले ठक्कर दिएर भागेको भिडियो सार्वजनिक भइसकेपछि पनि मन्त्री शाहले गाडीबाट एकजना खसेको भन्दै फेसबुकमा स्टाटस लेखेपछि चर्को आलोचना भएको थियो ।
प्रतिक्रिया