सानिमा बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी सानिमा क्यापिटलले सानिमा म्युचुअल फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।
माघ ९ गतेदेखि एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई सामूहिक लगानी कोष म्युचुअल फण्ड बिक्रीमा ल्याउन लागेको हो। प्रतिइकाई १० रुपैयाँ अंकित दरको यो म्युचुअल फण्ड सात वर्षे बन्दमुखी प्रकृतिको योजना हो।
फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सानिमा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
फण्डको इकाईमा माघ १३ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा माघ २६ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।
उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया