बैंकका कर्मचारीको उपचारका लागि छुट्टै अस्पताल, बैंकर्स संघले थाल्यो पहल

५ बर्ष अगाडि

बैंकमा काम गर्नेहरुको उपचारका लागि छुट्टै ‘बैंकिङ अस्पताल’ बनाउन नेपाल बैंकर्स संघले पहल शुरु गरेको छ । बैंकहरुकाे संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको पैसाबाट ‘बैंकिङ अस्पताल’ निर्माणका लागि संघले पहल शुरु गरेको हाे । 

संघले यसको अध्ययनका लागि उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको संयोजकत्वमा एक समिति बनाएको छ। समितिले नयाँ अस्पताल नै निर्माण गर्ने कि कुनै अस्पतालसँग आबद्ध भएर अगाडि बढ्ने बारे अध्ययन गर्ने छ। 

बैंक तथा वित्तीय संस्थाहरुले गर्ने खुद मुनाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्छन्। यो पैसा तोकिएका बिभिन्न क्षेत्रमा वर्ष दिनभित्र खर्च गर्न राष्ट्रबैंकले भनेको छ। जस्तो, कुनै बैंकले एक अर्ब नाफा गर्‍यो भने सीएसआर कोषमा एक करोड जम्मा गर्नु पर्छ। विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त संस्थाहरुसमेतको सहभागितामा जुट्ने यही पैसाबाट एउटा अस्पताल निर्माण गर्ने अवधारणा संघले अगाडि सारेको हो।

समतिले गरेकाे अध्ययनकाे आधारमा संघले ‘बैंकिङ अस्पताल’काे विषयमा नेपाल राष्ट्र बैंकसँग पनि कुराकानी गर्ने छ।

नेपालमा निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी  लगायतको आफ्नो अस्पताल छ। त्यहाँ उनीहरुलाई सहुलियत दरमा उपचार हुन्छ। साेही प्रकृतिकाे बैंकिङ क्षेत्रमा काम गर्नेहरुका लागि सहुलियत दरमा उपचार हुने अस्पताल खाेल्ने तयारी गरेकाे नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन् । 

हरेक वर्ष जम्मा हुने सीएसआरको पैसाबाट आधुनिक उपकरण जडित अस्पताल निर्माण गर्न सकिने र पैसा जम्मा हुँदै गएपछि काठमाडौंमा एक र हरेक प्रदेशमा एक/एक वटा अस्पताल निर्माण गर्न सकिने समेत उनले बताए। अस्पतालमा सर्वसाधारणले पनि उपचार गर्न सुविधा पाउने छन् । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया