काठमाडौं- वायुसेवा सञ्चालक कम्पनीहरुले सञ्चालन गरिरहेका र्याप बसलाई सरकारले विस्थापित गरी विद्युतीय बस सञ्चालनको कार्य अगाडि बढाएपछि वायुसेवा सञ्चालक संघले विरोध गरेको छ ।
सरकारले त्रिभुवन विमानस्थलभित्र हाल सञ्चालनमा रहेका वायुसेवा कम्पनीको र्याप बसहरूको प्रदुषण नाप जाँच, सवारीको प्रकार र सवारीको सीट संख्या, खरीद वर्ष आदी खुलाएर त्रिभुवन विमानस्थालमा रहेको नागरिक उड्ययन प्राधिकरणको कार्यालयमा विवरण उपलब्ध गराउन पत्राचार गरेपछि संघले विरोध जनाएको हो ।
कोरोनाका भाइरस संक्रमण कारण विगत ६ महिनामा साढे १७ अर्बभन्दा बढी आम्दानी गुमाएको वायुसेवा कम्पनीहरूलाई आर्थिक भार पर्नेगरी सरकारले विद्युतीय बस सञ्चालन गर्न लागेको भन्दै ध्यानाकर्षण गराएको संघले जनाएको छ । साथै आयस्रोत नै कम भएको अवस्थामा मौजुदा र्याप बसको सट्टा थप करोडौं खर्च गरी विद्युतीय बस प्रतिस्थापन गर्नु न्यायोचित नभएको पनि संघले जनाएको छ ।
विद्यमान र्याप बसहरू पुनर्स्थापन भएमा हाल सञ्चालनमा रहेका बस प्रयोग बिहिन हुने र वायुसेवा कम्पनीहरूलाई करोडौं नोक्सानी हुने भएकाले तत्काल र्याप बस प्रतिस्थापन गर्ने विषयमा संघले असहमति जनाएको छ ।
वायु सेवा सञ्चालकहरूले त्रिभुवन विमानस्थलको निषेधित क्षेत्र एयर साइडमा हाल आफ्नै लगानीमा हवाईजहाजसम्म पुर्याउन र हवाईजहाजबाट टर्मिनलसम्म यातायात व्यवस्था विभागले तोकेको प्रदुषण तथा बीमा मापदण्डमा रहेर र्याम्प बस सञ्चालन गर्दै आइरहेका छन् ।
प्रतिक्रिया