पर्यटन विकासमा जुट्दै स्थानीय तह

५ बर्ष अगाडि

भोजपुर- प्राकृतिक तथा ऐतिहासिक सम्पदामा प्रख्यात मानिन्छ भोजपुर । यस जिल्लामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व बोकेका धेरै ऐतिहासिक धरोहर छन् । खुकुरीका लागि प्रख्यात जिल्ला भोजपुरमा देशभरका लागि आवश्यक पर्ने मुद्रा अर्थात् टक काट्ने ऐतिहासिक स्थान पनि रहेको छ ।

पहिलो संस्कृत पाठशाला पनि यही जिल्लामा स्थापना भएको थियो । पछिल्लो समय यहाँका पर्यटकीय, ऐतिहासिक तथा धार्मिकस्थलहरुको संरक्षणमा यहाँका स्थानीय तह तथा प्रदेश–१ सरकार जुटेका छन् ।

भोजपुरको पश्चिममा खोटाङ, उत्तरमा सोलुखुम्बु र सङ्खुवासभा, पूर्वमा धनकुटा र दक्षिणमा उदयपुर जिल्ला रहेको छ । यहाँ राई जातिको बाहुल्यता रहेको छ भने अन्य जातिहरुमा क्षेत्री, ब्राह्मण, मगर, तामाङ, नेवार र शेर्पा पर्दछन् । जिल्लाको प्रमुख प्रशासकीय केन्द्र भोजपुर बजार हो भने दिङ्ला, घोडेटार, दावाँ, कुलुङ, टक्सार, च्याङग्रे, चौकीडाँडा, मानेडाँडा, प्याउली, चम्पे, पाल्पाले बजार, बालुवानी बेँसी, पाँचधारे, जरायोटार, चरम्बी बजार, तिवारीभन्ज्याङ प्रमुख बजार हुन् । 

मध्यकालीन नेपालमा नेपालभरि चाहिने धातुका सिक्का बनाउने ऐतिहासिक टक्सार बजार यही जिल्लामा अवस्थित रहेको छ । यहाँका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रमा सिद्धकाली देवी मन्दिर–भोजपुर, नागछाँगा–बैकुन्ठे, पशुपति मन्दिर–तिम्मा, रामजानकी मन्दिर–दिङला, ट्याम्केडाँडा– नागी, सिलिचुङ डाँडा, नेपालको पहिलोबौद्ध विहार–टक्सार, च्याङग्रे पोखरी–च्याङगे, सन्तानेश्वर महादेवथान गुफा, साल्पापोखरी–दोभाने, कालिकादेवी–ओख्रे, सेल्मे डाँडा, सुन्तले डाँडा, दिङ्ला बजार, अरुणडाँडा, मैयुङ डाँडालगायत रहेका छन् । 

त्यस्तै बेहेश्वर मन्दिर–भुल्के, हतुवागढी, अरुणको कातिकेघाट, हाँसपोखरी, घोडेटार र नेपालेडाँडाबाट सोलुखुम्बुको नाम्चेबजार जाने पदमार्गलगायत प्रमुख क्षेत्र हुन् ।  सिचिलुङ चुचुरो भोजपुरको सबैभन्दा अग्लो स्थान हो यसको उचाई चार हजार १४३ मिटर मिटर रहेको छ । यहाँका पर्यटकीय क्षेत्रको विकास तथा विस्तारमा प्रदेश–१ सरकारसँगै स्थानीय तहहरुले प्राथामिकता निर्धारण गरेका हुन् ।

नेपाल सरकारले निर्धारण गरेको घुम्नैपर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग निर्माणको काम तीव्र गतिमा भइरहेको छ । प्रदेश–१ सरकार, स्विस सरकार र टेम्केमैयुङ गाउँपालिको संयुक्त लगानीमा यहाँ पदमार्ग निर्माण भइरहेको छ । भोजपुरको पाँचधारेबाट सिलिचुङ चुचुरोसम्ममा करीब ५८ किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्यका साथ पदमार्ग निर्माण भइरहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए ।

पदमार्गका लागि रु दुई करोड लागतमध्ये पहिलो चरणमा रु ९९ लाख बराबरको काम हुनेछ भने दोस्रो चरणमा चिया घर निर्माण, खानेपानी, शौचालय, विश्रामस्थल निर्माणसँगै पर्यटकहरुका लागि खानाबस्नका लागि अन्य संरचना निर्माण हुने अध्यक्ष राईले जानकारी दिए । विशेष गरेर विदेशी पयर्टकहरुलाई लक्षित गरेर निर्माण हुँदै गरेको पदमार्गमा सिमेन्टको प्रयोग नगरी स्थानीयस्तरको स्रोत साधनको प्रयोग गर्दै विश्रामस्थल, चौतारा फँलैचाहरु निर्माण हुने निर्माण समितिका अध्यक्ष पाविहाङ राईले जानकारी दिए ।

यस पदमार्गमा पर्ने डाँडाबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खलाको दृश्यालोकन गर्न सकिन्छ । पहिलो चरणको पदमार्ग निर्माणको काम डेढ वर्षमा सम्पन्न हुने जनाइएको छ । 

त्यस्तै पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश–१ सरकारले तीन हजार ११० मिटर उचाइमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र ‘टेम्के डाँडामा दृश्यावलोकन स्तम्भ’ निर्माणको काम थालनी गरेको छ । प्रदेश सरकारले किराँत राईहरुको संस्कृत झल्कने तरिकाबाट टावरको निर्माण गर्न लागेको हो । यसले पर्यटन प्रवद्र्धनसँगै स्थानीयवासीको संस्कार संस्कृतिको पहिचान जोगाउन सहयोग पुग्ने प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले बताए । साथै यो टावर नेपालकै एक नमूना टावर बनाउनेसमेत उनको भनाइ छ ।

मुख्यमन्त्री राईले भन्नुभयो, “टेम्के डाँडा आफँै टावर छ, तर यो प्रदेश सरकारले त्यसै टावर बनाउन लागेको होइन, यसलाई किराँत पहिचानका रुपमा रहेको चिण्डो आकारमा निर्माण गरेर नेपालकै नमूना दृश्यावलोकन स्तम्भ बनाउने प्रदेश सरकारको लक्ष्य छ ।” टावर कुन्सालिङ कन्सट्रक्शन भोजपुरले आगामी २०८२ सालसम्म सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको छ ।

किराँत पहिचान जोडिएको नेपालमा नै विशेष प्रकारको टावर बन्ने मुख्यमन्त्री राईको भनाइ छ । प्रदेश सरकारको ठूलो लगानीमा निर्माण गर्न लागेको टावर किराँत राईहरुको पहिचान झल्कने तरिकाबाट डिजाइन गरिएको छ  । टावर २० मिटर अग्लो रहनेछ भने टावरको पहिलो तलामा म्युजियम रहनेछ । त्यस्तै भोजपुरको पौवादुङमा गाउँपालिका पर्यटकीय क्षेत्रको विकाससँगै ऐतिहासिक सम्पदाको संरक्षणमा जुटेको छ ।  

गाउँपालिकाले ऐतिहासिक तथा धार्मिक क्षेत्र कोटगढी, दोश्रो हलेसी भनेर चिनिने सन्तानेश्वर मन्दिर, दुङमाली भाषा संरक्षण केन्द्र, च्याङग्रे पोखरी, अरुण डाँडालगायत ठाउँको संरक्षण तथा विकासको थालनी गरेको हो । 

    
    

५ बर्ष अगाडि

प्रतिक्रिया