इलाम । बहुमतको आधारमा ढुक्कसँग सरकार चलाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर राजनीतिक अस्थिरता निम्त्याएपछि सीमा क्षेत्रमा छिमेकी मूलुक भारतले ज्यादती शुरु गरेको छ ।
सोमबार बेलुकामात्रै कन्चनपुरमा रोजगारीका लागि भारत गएर फर्कँदै गरेका एक नेपाली युवामाथि गोली चलाएको भारतले राती इलामको सूर्योदय नगरपालिकास्थित हिलेभन्ज्याङमा आइतबार राति पिलर सारेको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि आफू निकटका नेताहरुलाई भेला पारेर छिमेकी (भारत), सेना र अदालतलाई मिलाएको प्रतिकृया दिएका थिए । त्यसको केही समयपछि भारतले नेपाली नागरिक र भूगोलमाथी धावा बोल्न शुरु गरेको छ ।
सोमबारबार नेपाल–भारतको सीमा कुदियाकबर भन्दा पाँच सय मिटर भित्र नेपाली युवा कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका वडा नं। १ का १८ वर्षीय नरेश सुनार सोमबार साँझ साढे ६ बजे गोली लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी मुकुन्द मरासनीले जानकारी दिए।
घाइते सुनारको दाहिने खुट्टामा गोलीको छर्रा लागेको एसपी मरासनीले बताए।
गोली कसले चलाएको हो भन्ने कुरा भने नखुलेको उनले बताए। घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
घटनाबारे सत्य तथ्य बुझ्न आफूले दोधारा चाँदनीका प्रहरी निरीक्षकलाई बुझ्न पठाएको एसपी मरासनीले बताए।
यसैबीच नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्रमा रहेको सूर्योदय नगरपालिकास्थीत हिलेभन्ज्याङमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाडेको थाहा पाएपछि स्थानीयले उखेलेर फालेका छन् ।
आइतबार राति एसएसबीले पिलर गाडेको थाहा पाएपछि घटनास्थल पुगेर स्थानीयले पिलर उखेलेर एसएसबीलाई लखेटेका हुन् ।
स्थानीयको हुलसहित सशस्त्र प्रहरी पुगेपछि आफूले गाडेको पिलर उखेलेर एसएसबी त्यहाँबाट भागेको छ । एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम ९जीपीएस०ले देखाएको ठाउँ भन्दै नेपाली भूभागपट्टि पिलर गाड्ने प्रयास गरेको सशस्त्र प्रहरी बलको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट ९बीओपी०का इन्स्पेक्टर नवीन खतिवडाले बताए । उनले भने, ‘हामी कसैलाई थाहै नदिई विवादित ठाउँमा एसएसबीले पिलर गाड्न खोजेको रहेछ ।’
भारतले सीमा क्षेत्रमा राखेको एसएसबीको बीओपीमा नयाँ नेतृत्व आएपछि पिलर गाड््ने प्रयास भएको सशस्त्र प्रहरी निरीक्षक खतिवडाले बताए । नेपाल र भारतको सिमानामा लामो समयदेखिको विवाद र मिचामिचको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । पटक पटक सिमानामा भएको विवादले स्थानीय समस्यामा पर्न थालेका छन् । केही समय अघिदेखि सीमामा समस्या नभएजस्तै गरे पनि सानोतिनो समस्या अहिले पनि देखिरहने गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा भगीरथ भण्डारीले लेखेका छन् ।
प्रतिक्रिया