काठमाडौ, मुस्ताङमा कोभिड १९ का कारण लामो समय बन्द रहेका होटल व्यवसाय खुलेसँँगै पर्यटकको चहलपहल सुरु भएको छ । कोभिड १९ महामारीको कारण लकडाउनले ९ महिनादेखि बन्द होटल व्यवसाय सञ्चालनमा आएपछि आन्तरिक पर्यटकहरु मुस्ताङ पुग्न थालेका छन् ।
होटेल खुलेसंगै पोखरा, बुटवललगायत विभिन्न ठाउँका पर्यटकहरु भ्रमणमा आएको मुस्ताङ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताएका छन् । । उनकाअनुसार संघको निर्णयबाट गएको बिहीबारदेखि मुस्ताङमा होटल, व्यवसाय खोलिएको हो ।
मुस्ताङ जिल्लाको कला, संस्कृति र परिवेशसमेत छुट्टै रहेकाले यसको विविध आयामहरुको अध्ययन तथा अवलोकनका लागि धेरै क्षेत्रहरु रहेको तुलाचनको भनाइ छ । कोरोना भाइरसकै कारण लामो समयसम्म होटल व्यवसाय बन्द हुँदा अर्थतन्त्रमा प्रत्यक्ष असर परेपछि पछिल्लो समय लकडाउन खुला भएसँगै अन्य क्षेत्र पनि खोलिएको छ ।
यसैगरी हिन्दू र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर पनि आउँदो मङ्गलबार सर्वसाधारणहरुका लागि खुला गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
मुक्तिनाथ विकास समिति, स्थानीय प्रशासन, संघ तथा प्रदेशका सांसदहरु, जिल्ला समन्वय समिति, गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी बैठकमा मन्दिर खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताए ।
मन्दिर खुला गरिने हुँदा सर्वसाधारणलाई स्वास्थ्यका सम्पूर्ण मापदण्डहरुको पालना गर्न आग्रह पनि गरिएको छ ।
मुस्ताङमा स्याउको राजधानी मानिने मार्फा, थकाली समुदायको उद्गमस्थल ठिनीगाउँ, जोमसोम बजार, यारुजो डाँडा, ढुम्बाताल, प्रमुख पर्यटकीय एवं धार्मिकस्थल मुक्तिनाथ, कागबेनी, लोमान्थाङ र मुस्ताङ–तिब्बत कोरला नाका पर्यटकको आकर्षणका केन्द्र मानिन्छन् ।
विगत केही वर्षयता मुस्ताङमा विदेशीभन्दा नेपालको विभिन्न जिल्लाबाट स्वदेशी पर्यटकहरुको चाप बढेको होटल व्यवसायीको भनाइ छ । हिमाली जिल्लाको छुट्टै पहिचान बनाएको मुस्ताङ जिल्ला आफैँमा पनि निक्कै सुन्दर तथा आकर्षक मानिन्छ ।
म्याग्दी र मुस्ताङको सिमाना घाँसादेखि लेते, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथसम्म कुल १ सय ६५ ओटा पर्यटकीय होटलहरु सञ्चालनमा रहेका छन् । त्यस्तै उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर तथा छोन्हुपमा ४२ ओटा साना, मझौला र ठूला होटलहरु सञ्चालन गरिएको छ ।



प्रतिक्रिया