काठमाडौं । काठमाडौ क्षेत्र नं ७ बाट नेकपाका सांसद रामवीर मानन्धरले पार्टी नेता वामदेव गौतमका लागि राजीनामा गरेपछि सो क्षेत्रमा चुनावी चहलपहल सुरु हुने भएको छ ।
बर्दियाबाट निर्वाचन हारेका वामदेवलाई प्रतिनिधिसभामा ल्याउनका लागि रामवीरले राजीनामा दिएका हुन् । सरकारले दशैं तिहारपछि मंसिरको तेस्रो साता सो क्षेत्रमा उपनिर्वाचन गराउने तयारी गरेको छ ।
नेकपाका नेता वामदेवसँग कसले प्रतिस्पर्धा गर्लान् भन्ने बारेमा पनि विभिन्न आंकलन सुरु भएको छ । अपुष्ट जानकारीअनुसार सो क्षेत्रमा उनीसँग नेपाली काँग्रेसले डा प्रकाशशरण महत , प्रवक्ता विश्वप्रकाश शर्मा, धनराज गुरुङलाई उम्मेदवार बनाउने चर्चा सुरु भएको छ ।
यस्तै काठमाडौं क्षेत्र नं १ बाट पराजित विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र समेत उम्मेवदार बन्ने चर्चा सुरु भएको छ । उनले पार्टी भित्र छलफल समेत चलाएको बताइन्छ ।
गत प्रतिनिधिसभाको निर्वाचनमा सो क्षेत्रमा काँग्रेसले उम्मेदवार उठाएको थिएन । चुनावी गणितअनुसार उसले राप्रपाका उम्मेदवार विक्रमबहादुर थापालाई उम्मेदवार बनाएको थियो ।
नेकपाका उम्मेदवार रहेका मानन्धरले १८ हजार १०२ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी थापाले १० हजार ७९ मत ल्याएका थिए । विवेकशिल साझाकी अनुपा श्रेष्ठले ५ हजार ३७६ मत ल्याएकी थिइन । संघीय फोरमका ज्ञानेन्द्रमोहन श्रेष्ठले १ हजार ७८१ र नयाँ शक्तिका ईश्वर रिजालले ७२८ भोट ल्याएका थिए ।
काँग्रेसले उम्मेदवार बनाउन लागेका भनिएका डा महत गत निर्वाचनमा काठमाडौं क्षेत नै ५ बाट पराजित भएका थिए ।
सो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाका १६, १७, १८ र २५ नम्बर वडा रहेका छन् । बालाजु, क्षेत्रपाटी, खुसिबु, वनस्थली, इचंगु, जितपुर र तिनपिप्लेलगायतका क्षेत्र पर्दछन् ।
पछिल्लो समय नेकपा नेतृत्वको सरकारले गतिलो काम गर्न नसकेको भन्दै जनस्तरमा चर्को आलोचना भइरहेको बेला काठमाडौंको मतदातले नेकपालाई नै रोज्छन् वा अरु पार्टीलाई रोज्छन् भन्ने बारेमा अहिल्यै अनुमान लगाउनु गलत हुन जाने जानकारहरुको भनाइ छ ।
प्रतिक्रिया