अन्धकारमा उज्यालो दीप

५ बर्ष अगाडि

काठमाडौं- कोभिड–१९ का कारण लामो समयदेखि सुस्ताएको पोखराको पर्यटन व्यवसायमा हालै सम्पन्न सडक महोत्सवले अन्धकारमा उज्यालो ल्याएको महसुस गरेको पर्यटन व्यवसायीले बताएका छन् । 

रेष्टुरेण्ट एण्ड बार एसोशियसन (रेवान) ले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै विगत २१ वर्षदेखि मनाउँदै आएको सडक महोत्सव यस वर्ष तीन दिनमात्र आयोजना गरी सम्पन्न गरेको छ । 

रेवानका प्रथम उपाध्यक्ष एवं होटल माउण्ट कैलाशका सञ्चालक नरेश भट्टराईले सडक महोत्सवले पर्यटन क्षेत्रमा छाएको अन्धकारलाई चिर्न सफल भएको बताए । 

“लेकसाइड लामो समयदेखि सुनसान थियो, व्यवसायीमा निकै निरासा छाएको थियो, सडक महोत्सवले साना तथा ठूला सबै व्यवसायीलाई केही मात्रामा भए पनि उत्साह थपिदियो, पर्यटनमा देखिएको अन्धकारलाई चिर्दै उज्यालो ज्योति बनेको आभास हामीले गर्यौँ”, उनले भने। 

उनले तीन दिनको महोत्सवले पनि स्थानीय किसानको उत्पादनले समेत बजार पाउनलाई सघाउ पु¥याएको बताए । अबको पर्यटन उकास्न आन्तरिक पर्यटकलाई नै लक्षित गरेर विभिन्न गतिविधि जोड दिनुपर्ने उहाँको भनाइ छ । रेवानका पोखराका अध्यक्ष लक्ष्मण बरालले कोभिड–१९ महामारीका बीच सम्पन्न महोत्सव सोचे भन्दा बढी सफल भएको बताए । 

“कोभिड– १९ का कारणले सोचे जस्तो दर्शक उपस्थिति हुँदैन कि भन्ने लागेको थियो, तर दर्शकको उपस्थितिले उत्साहित गरायो”, बरालले भने, “हामीले २१ वर्षदेखिको महोत्सवलाई तामझामविना तीन दिनमा सम्पन्न गर्यौँ, महोत्सवले व्यवसायीलाई उत्साहित बनायो, सँगै काठमाडौँ चितवन, बुटवल, भैरहवादेखिका आन्तरिक पर्यटक निकै रमाए ।”

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले पनि महोत्सवले पोखराको पर्यटनलाई चलायमान बनाउँदै सकारात्मक सन्देश दिन सफल भएको प्रतिक्रिया दिए । उनले भने, “विदेशी पर्यटक नआएसम्म पर्यटन क्षेत्र चलायमान हुँदैन कि भनेर निरास बनेका व्यवसायीलाई आन्तरिक पर्यटकबाट पनि व्यवसायलाई उकास्न सकिन्छ भन्ने एउटा सन्देश महोत्सवले दिएको छ ।” उनका अनुसार लेकसाइडमा खुलेका होटलमा करीब ३० देखि ३५ प्रतिशत ‘अकुपेन्सी’ भएका थिए । पोखरामा करीब ७०० होटल छन् भने ४०० सङ्घमा आबद्ध छन् । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले पोखराको ब्राण्ड बनेको सडक महोत्सव कोरोना महामारीबीच सम्पन्न हुनु निकै सकारात्मक भएको बताए । 

उनले पोखरा आसपासका पर्यटकीय गन्तब्य विस्तारै खुल्दै गएका र लेकसाइडका होटल, साहसिक खेलले पनि विशेष सहुलियत प्रदान गरेकाले आन्तरिक पर्यटकलाई पोखरा घुम्ने सुनौलो अवसर भएको सुनाए। 

    

    

    

५ बर्ष अगाडि

प्रतिक्रिया