काठमाडौं- नेकपाका प्रचण्ड-नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन कार्यक्रमको घोषणा गर्ने भएको छ ।
५ पुसमा नयाँ जनादेशमा जाने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि यसकोविरुद्धमा प्रचण्ड-नेपाल समुह सडक संघर्षमा उत्रिएका हुन् ।
दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दोस्रो चरणको आन्दोलनको घोषणा गर्न लागिएको स्रोतले जनाएको छ ।
यसअघि प्रतिनिधिसभा विघटनविरुद्ध पहिलो चरणका आन्दोलनको कार्यक्रम गरेको प्रचण्ड-नेपाल समूहले आज दोस्रो चरणका कार्यक्रम घोषणा गर्न लागेको हो।
संसद् विघटनविरुद्ध १४ पुसमा देशैभर जनप्रदर्शन सहित उक्त समूहले विरोध सभाको आयोजना गरेको थियो।
कानुनी रुपमा विभाजन भइनसके पनि राजनीतिक रुपमा विभाजन भएको नेकपामा अहिले दुई छुट्टै समूह बनेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड-नेपाल समूहले ५ पुसयता पार्टी कमिटीका छुट्टाछुट्टै बैठक राखेर एक अर्कालाई कारवाहीको निर्णय गरिसकेका छन्।
दुवै समूहले निर्वाचन आयोगमा आफ्नो आफ्नो वैधता रहेको भन्दै लिखित रुपमा केन्द्रीय कमिटी बैठकका निर्णय समेत पेश गरिसकेका छन्।
अहिले दुवै समूहले आफू नै आधिकारिक भएको दाबी गर्दै आइरहेका छन्। अब निर्वाचन आयोगले दुवै समूहमध्ये कसलाई वैधानिकता प्रदान गर्छ त्यसलाई महत्वका साथ हेरिएको छ।
प्रतिक्रिया