ग्रेगोरियन पात्रोअनुसार आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ ।
पादरी ग्रेगोरियनले इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु)को सम्झनामा उनको मृत्युपछि सो संवत् प्रचलनमा ल्याएका हुन् । यशु ख्रीस्टको जन्म भएको वर्षलाई आधार मानेर गणना हुन शुरु भएको इस्वी संवतलाई अँग्रेजी नयाँ वर्ष भनेर भन्ने गरिन्छ ।
अंग्रेजी नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै सन् २०२० मा नेपाल निम्न अर्थतन्त्रबाट निम्नमध्यम अर्थतन्त्रभएको मुलुकका रुपमा स्थापित गर्न सफल भएकोमा खुसी व्यक्त गरेका छन् । सन् २०२२ सम्म मध्यम अर्थतन्त्र भएको मुलुक बनाउने संयुक्त राष्ट्रसंघको विकास लक्षमा नेपाल सरकार दृढ रहेको पनि उनको भनाई छ ।
समृद्धिको यात्रामा एक कदम अगाडि बढेको र मुलुकमा वर्गोत्थान गर्ने सफलतातर्फ उन्मुख भएको प्रधानमन्त्रीको भनाई छ ।
कोरोना महामारीका कारण वर्षभरि नै त्रासमा बस्नुपरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘भर्खरै बिदा भएको सन् २०२० मा हामीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सामना गर्नु पर्यो । यसले हाम्रो स्वास्थ्य तथा राष्ट्रको सामाजिक र आर्थिक जीवनमा नकारात्मक असर पुर्यायो । हामीले कोभिडसँग लड्ने क्षमताको हिसाबले कमजोर र अझ शून्यप्रायः अवस्थामा रहेको स्वास्थ्य संरचनालाई यसैबीचमा निर्माण गरी कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं । यस संक्रामक महामारीबाट नागरिकहरूलाई बचाउन सरकारले अवलम्बन गरेका उपायहरूलाई साथ दिंदै सुरक्षित रहन म सबैमा आह्वान गर्दछु ।’
आजै प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा विश्वका ३६ देशमा रहेका नेपालीहरुलाई भर्चुअल माध्यमबाट एकैपल्ट सम्बोधन गर्नेछन् ।
प्रतिक्रिया