खोप उत्पादन गर्ने फर्म र बोतलको पानी बेच्ने कम्पनीमा लगानी गरेका एकजना चिनियाँ व्यापारी एशियाकै सर्वाधिक धनी व्यक्ति बनेका छन्।
कुल ७७.८ अर्ब अमेरिकी डलर बराबर सम्पत्ति कमाएर जङ शान्शान चिनियाँ व्यापारी एशियाकै सर्वाधिक धनी व्यक्ति बनेको ब्लूमबर्गको बिलीअनेअर इन्डेक्समा सार्वजनिक भएको छ ।
जसका अनुसार यो वर्ष आफ्नो सम्पत्ति कुल सात अर्ब डलरले वृद्धि गर्दै उनी संसारभरिका धनाढ्य व्यक्तिको सूचीमा ११ औँ स्थानमा पुगेका छन्।
कुनै बेला पत्रकारिता, च्याउखेती र स्वास्थ्य क्षेत्रमा संलग्न रहेका जङ खोप उत्पादन गर्ने फर्म बेइजिङ वान्ताई बायोलजिकल र बोतलबन्द पानी उत्पादन गर्ने कम्पनी नोङ्फु स्प्रिङका मालिक हुन् ।
जङले खोप उत्पादन गर्ने फर्म बेइजिङ वान्ताई बायोलजिकलको शेअर गत एप्रिल महिनामा चीनको स्टक बजारमा सूचीकृत गराएका थिए। तीन महिनापछि बोतलबन्द पानी उत्पादन गर्ने कम्पनी नोङ्फु स्प्रिङ पनि हङ्कङको शेयर बजारमा पुग्यो।
त्यसले उनलाई अलिबाबाका संस्थापक ज्याक माभन्दा माथि पुर्याइदियो। ज्याक मा त्यतिबेला चीन र एशियाकै सर्वाधिक धनी व्यक्ति थिए।
त्यतिबेलादेखि नै नोङ्फु स्प्रिङ हङ्कङको शेयर बजारमा बलियो बनेर बसेको छ। पहिलो चोटि सार्वजनिक भएदेखि अहिलेसम्म त्यसको मूल्य १५५ प्रतिशतले बढेको छ। बेइजिङ बान्ताई बायोलजिकलको शेयरको मूल्य २,००० प्रतिशतभन्दा माथि पुगेको छ।
उक्त फर्म कोभिड–१९ को खोप बनाउन संलग्न छ।
शेयर बजारमा भएको नाटकीय उत्थानले जङलाई एशियाको सर्वाधिक व्यक्तिका रूपमा स्थापित गरिदिएको छ।
ब्लूमबर्गका अनुसार यो इतिहासमै सर्वाधिक सम्पत्ति सङ्कलन भएका घटनामध्ये एक हो।
तर यसअघिका एसीयाका धनि ज्याक माको सम्पत्ति अक्टोबरमा ६१.७ अर्ब डलरबाट घटेर ५१.२ अर्ब डलर पुगेको छ। उनको कम्पनी अलिबाबा केही समययता चीनका नियामक निकायहरूको निगरानीमा परेको छ।
उससँग सम्बद्ध एन्ट ग्रूप गत नोभेम्बर महिनामा स्टक बजारमा सूचीकृत भएको भए पनि एकलौटी व्यवहार गरेको आशङ्कामा अलिबाबामाथि छानबिन भइरहेको छ।
अमेजन कम्पनीका संस्थापक जेफ बेजोससहित धेरै धनाढ्यहरू कोरोनाभाइरस महामारीका बेला अझ धनी भएका छन्।
भारतका मुकेश अम्बानीको सम्पत्ति पनि यो अवधिमा १८.३ अर्ब डलरले बढेर ७६.९ अर्ब डलर पुगेको छ। उनले आफ्नो व्यापारिक प्रतिष्ठान रिलायन्स इन्डस्ट्रीजलाई प्रविधि र ई–कमर्सको क्षेत्रमा रूपान्तरित गरेका छन्। बीबीसी
प्रतिक्रिया