पार्टी विभाजनपछि सरकारकाे पहिलाे काम : निर्मला हत्याकाण्डमा निलम्बित एसपीको पुनर्वहाली

५ बर्ष अगाडि

काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्ड अनुसन्धानमा चरम लापरबाही गरेका कारण निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई सरकारले पुनर्वहाली गरेको छ। 

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बर्खस्तमा परेका एसपी विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो।

२०७५ साउन १० गते महेन्द्रनगरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। गृहकार्य गर्न साथीको घर गएकी छोरी नफर्किएपछि उनकी आमा दुर्गादेवी पन्तले तत्काल प्रहरीकोमा पुगेपनि प्रहरीले खोजीकार्यमा लापरवाही गरेको थियो । हराएको भोलिपल्ट उखुबारीमा निर्मलाको शब भेटिए पछि पनि बलात्कार र हत्या काण्डको अनुसन्धानमा चरम लापरबाही गरेको आरोप लागेको थियो । अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै एसपी विष्ट र  प्रहरी निरीक्षक जगदीश भट्टलाई तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सेवाबाट निष्कासन गर्न गृहमन्त्रालयलाई पत्राचार गरेपछि गृहले  तत्कल बर्खास्त गरेको थियो । 

त्यसपछि हत्याको अनुसन्धानमा संलग्न थप पाँचजना प्रहरी अधिकारी प्रहरी नायब उपरीक्षकहरू ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षकहरू जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई  निलम्बन गरिएको थियो।

बर्खास्तमा परेका अन्य प्रहरी अधिकारी पुनर्वहाली भइसकेका छन भने  एसपी विष्ट र प्रहरी निरीक्षक भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए। अनुसन्धानमा लापरबाहीको आरोप लागेका सबै प्रहरी अधिकारी निलम्बनका परेपनि अहिलेसम्म घटनाका दोषि पत्ता लाग्न सकेका छैनन् ।  

छोरी गुमाउनुको पीडासंगै न्याय माग्न विभिन्न ढोका ढकढकाउँदै हिँड्ने क्रममा उनका बुवा विक्षिप्त भएर उनको मानसिक उपचार पनि गर्नु परेको थियो। घटनाको विरोधमा देशब्यापी रुपमा ठूलो आन्दोलन समेत भएको थियो भने घटनासँग जोडेर प्रधानमन्त्री ओली तथा गृहमन्त्री रामबहादुर थापा बादलको पार्टीभित्रैबाट पनि चर्को आलोचना भएको थियो । 

गृहमन्त्री थापाले घटनालाई राजनीतिकरण गरिएको भन्ने अभिव्यक्ति दिएपछि हत्यारालाई थापाले नै जोगाएको आरोप समेत लागेको थियो । बलात्कार र हत्याको चर्को आलोचना गर्ने पक्ष पार्टीबाट अलग्गिएपछि अहिले निलम्बित एसपीलाई पुनर्वहाली गरिएकाेले यसलाइ धेरैले अचम्म मानेका छन्। 

५ बर्ष अगाडि

प्रतिक्रिया