नेकपाका सबै बैंक खाता रोक्का हुने

५ बर्ष अगाडि

आन्तरिक विवादले विभाजनको विभाजनको औपचारिक घोषणामात्रै हुन बाँकी रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सबै बैंक खाता रोक्का हुने भएका छन् । प्रचण्ड–माधव नेपाल समुहले नेकपाका  सबै बैंक खाताहरु रोक्का गर्न बुधबार पत्राचार गरेपछि सबै बैंकखाता रोक्का हुने भएका हुन् । 

विवाद समाधान नहुञ्जेलसम्म जुनजुन बैंकमा खाता रहेका छन्, ति सबै बैंक खाता रोक्का हुने  नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । 

पार्टी वा कुनै संस्थाको दुई पक्षबीच विवाद उत्पन्न भएर खाता रोक्का गर्न भनि निवेदन दिएपछि त्यस्तो खाता रोक्का हुने भएकाले नेकपाको खाता पनि रोक्का हुने उनले बताए । खातावालहरुका बिचमा विवाद उत्पन्न भएमा अधिकारवाला निकायको अन्तिम निर्णय नआएसम्म खाता रोक्का गर्नु बैंकहरुका लागि सुरक्षित उपाय भएको उनको भनाई छ । 

‘अब निर्वाचन आयोग वा अदालतको अन्तिम निर्णय आएपछि मात्रै त्यस्तो खाता खुलाउन मिल्छ’, दाहालले भने । 

राजनीतिक दलको विवाद पछि बैंक खाता रोक्न गरिएको यो पहिलो पत्राचार भएको पनि दाहालले बताए । तर यस्तो बिवाद बैंकहरुमा पहिले पनि आइराख्ने गरेको उनको भनाई छ । 

सो विषयमा राष्ट्र बैंकलाई जानकारी भने गराइने दाहालको भनाइ छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया