कर्जा लगानी ८ प्रतिशतले बढ्यो , घर–जग्गा खरिदमा कर्जा लगानी कति ?

५ बर्ष अगाडि

काठमाडौं,चालू आवको पाँच महिनामा  कर्जा लगानी ८ प्रतिशतले बढेको छ । गत वर्षको तुलनामा यस वर्ष  
दुई खर्ब ३७ अर्ब कर्जा लगानी वृद्धि भएको छ । गत वर्षको सोही अवधिसम्म कर्जा लगानी २ खर्ब १५ अर्बले बढेको थियो । असार अन्त्यमा वाणिज्य बैंकहरूको कर्जा लगानी २९ खर्ब ३ अर्ब रहेको थियो । चालू आवको १० पुससम्ममा कर्जा लगानी ३१ खर्ब ४० अर्ब पुगेको छ । 

गत आवको साढे पाँच महिनामा कर्जा लगानी २१ खर्ब ११ अर्बबाट बढेर २३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको थियो । यो १० दशमलव १८ प्रतिशतको वृद्धि हो ।कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा र धेरैजसो आर्थिक क्षेत्रहरू खुला हुँदै जाँदा कर्जाको मागमा वृद्धि भइरहेको बैंकरहरूले जनाएका छन् ।

विशेष गरेर घर–जग्गा खरिदमा कर्जा लगानी बढेको उनीहरूको भनाइ छ । ‘सबैजसो क्षेत्र खुल्न थालेपछि कर्जा लगानी बढ्न थालेको छ,’ नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका कार्यकारी निर्देशक भुवन दाहालले भने, ‘घर–जग्गामा कर्जा लगानी बढिरहेको छ ।’

असारयता कात्तिकमा जग्गा खरिद र प्लटिङका लागि भएको कर्जा लगानी ७ प्रतिशतले बढेको छ । असारमा यस्तो कर्जा २२ खर्ब ४ अर्ब रहेकोमा कात्तिकमा २३ खर्ब ७५ अर्ब पुगेको हो । 

कात्तिक लागेसँगै बैंकहरूले स्थिर ब्याजमा व्यक्तिगत आवधिक कर्जा जारी गर्न लागेका छन् । यसमा पनि वृद्धि भएको देखिन्छ । समग्रमा आवधिक कर्जा असारको तुलनामा कात्तिकमा करिब ६ प्रतिशतले बढेर ७ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ । संस्थागतबाहेकको आवधिक कर्जा १० प्रतिशतले बढेर १ खर्ब ४५ अर्ब पुगेको छ । 

राष्ट्र बैंकले कोभिडका कारण व्यवसायीहरूले माग गरेको वर्किङ क्यापिटल लोन (चालू पुँजी कर्जा) २० प्रतिशतसम्म वृद्धि गर्न सकिने व्यवस्था गरेको थियो । असारदेखि कात्तिकसम्ममा यस्तो माग तथा चालू पुँजी कर्जा ७ दशमलव ६ प्रतिशतले बढेर ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । असारयता निक्षेप भने २ खर्ब ४२ अर्बले बढेर ३७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया