काठमाडौँ । नेपालीको महत्वपूर्ण चाड दशैंले धेरैलाई छोएको छ ।
दशैंमा अन्य सर सामग्रीको खरिद तथा व्यवसाय पनि राम्रैसँग हुने गथरेको छ । दशैंलाई नेपालीले मासु खाने पर्वको रुपमा पनि मनाउने गरेका छन् ।
मासु खाने पर्वका रुपमा नै मनाउने भएकाले खसी, बोका तथा च्याङग्राको माग र आयात असाध्यै धेरै हुने गरेको छ । यस पटकको दशैंमा करिब एक लाख खसी बोका काठमाडौँ उपत्यकामा भित्रिने अनुमान गरिएको छ ।
विगतका बर्षहरुको तुलना गर्दा करिब एक लाख बढी खसी तथा बोका काठमाडौं उपत्यकामा भित्रने छ भने सोही हाराहारीमा अन्य पशु तथा चौपाया समेत भित्रने अनुमान छ ।
गत वर्षको दशैंमा करिब ८० हजार खसी बोका भित्रिएका थिए । अनौपचारिक रुपमा ल्याइएका खुसी बोकाको तथ्यांक हेर्दा गत वर्ष पनि सोही संख्यामा नै खसी बोका आयात भएका थिए ।
चालु आवको दुई महिनामा भारत र तिब्बतबाट मात्रै रु ७७ करोड १५ लाख ५० हजार बराबरको बोका, खसी र च्याङ्ग्रा भित्रिएका छन् ।
भन्सार विभागका अनुसार सो अवधिमा एक लाख १८५ खसी बोका भित्रिएका छन् । त्यसबाट रु ३ करोड ९० लाख राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा ६० करोड २१ लाख मूल्यका ८३ हजार ८०० खसी बोका आएका थिए । त्यसबाट रु ३ करोड एक लाख राजस्व संकलन भएको थियो ।
व्यापारीले अवैध बाटोबाट ल्याउने खसी बोकाको संख्या पनि उल्लेख्य रहेको छ । त्यसको संख्या ५ हजार बढी रहेको बताइन्छ ।
काठमाडौँको टुकुचा, बालाजु, कोटेश्वर, महाराजगन्जलगायतका स्थानमा खसी बोका बिक्री गरिन्छ । नेपालमा भित्रने मध्ये ८५ प्रतिशत बढी खसी बोका भारतको उत्तर प्रदेशबाट आयात भएका हुन् । बाँकी रहेको १५ प्रतिशत खसी बोका भने उत्तरी छिमेकी चीनको स्वशासित तिब्बतबाट आयात हुने गरेको छ ।
विगतका वर्षहरुमा नेपाल खाद्य संस्थाले एक महिना पहिल्यै देखि खसी बोकाको खरिदका लागि प्रक्रिया अगाडि बढाउने गरेको थियो । सय पटक विगतका बर्षहरुमा जस्तो खाद्य संस्थान सक्रिय देखिएको छैन । उसले करिब ५ हजार खसी बोका ल्याउने तयारी गरेको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्थानको काम कारवाहीमाथि निरन्तर अनुगमन गरिरहेको र विगतमा ल्याइएका खसी बोकाको कुनै पनि हिसाब समेत संस्थानसँग नरहेको बताइन्छ ।
यस्तै मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडाँैलगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमस्थित सेवा केन्द्रले हालसम्म १६ हजार भेडाच्याङ्ग्रा बिक्री भइसकेको जनाएको छ । सोरबारसम्म १० हजार भेडा र ६ हजार च्याङ्ग्रा बिक्रीका लागि स्वास्थ्य परीक्षण गरिएको केन्द्रका पशु चिकित्सक डा शिव भुसालले जानकारी दिएका छन् ।
दशँैका लागि जिल्लाबाट करीब २० हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ । नेपाल खाद्य संस्थानले यस वर्ष मुस्ताङबाट एक हजार च्याङ्ग्रा काठमाडौँ लैजाने भएको छ ।
पाँच सय ५० च्याङ्ग्रा मुस्ताङबाट पठाइसकेको संस्थानको जोमसोमस्थित कार्यालयका प्रमुख गङ्गाप्रसाद शाहले बताए । थप ४५० च्याङग्रा खरिद गरेर पठाउने तयारी भइरहेको छ ।
मुस्ताङमा एउटा च्याङग्रा रु १७ हजारदेखि रु २२ हजार तथा भेडा रु १४ हजारदेखि रु १७ हजारका दरले खरिद बिक्री भइरहेको छ । प्रतिकिलो रु ५३० का दरले च्याङ्ग्रा खरिद गरेको संस्थानले काठमाडाँैमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु ६५० का दरले बिक्री गर्ने जनाएको छ ।
प्रतिक्रिया