अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन प्रभावकारी योजना अघि बढाउँछु : मन्त्री ढकाल

५ बर्ष अगाडि

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने बताएका छन् । 

शुक्रबार पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री ढकालले सिंहदरबारमा आज पदभार ग्रहण गर्दै मन्त्रालयको कानूनी समस्या सुल्झाउन तत्काल गरिनुपर्ने निर्णय र मन्त्रिपरिषद्मा रोकिएका तथा सरोकारवाला मन्त्रालयसँग गर्नुपर्ने समन्वय सहजीकरणका लागि पहल गर्ने विश्वास दिलाए ।
    
उनल भने, “मन्त्री फेरिँदा झस्किनु पर्दैन, अनुशासनमा रहेर काम गर्नुस् सबैको अभिभावकत्व ग्रहण गर्नेछु, म सपना देखाउँदिन परिणाममा विश्वास गर्छु त्यसैले सपनामा रङ्गिनेभन्दा व्यावहारिक हुनेगरी योजना निर्माण र कार्यान्वयन हुनुपर्छ ।” 
    
अतिरिक्त सुविधा र सेवाका निम्ति मन्त्रीप्रति कोही व्यक्ति लालहीत हुनु नपर्ने उनको भनाइ थियो । स्वाभिमान र इमानलाई बन्दक राखेर अतिरिक्त सुविधा र पैसा कमाउनु आफ्नो राजनीतिक उद्देश्य नरहेकाले मन्त्रालयभित्रका विकास योजना आर्थिक मितव्ययी र पारदर्शी ढङ्गले अघि बढाइनुपर्नेमा उनले जोड दिए ।
    
मन्त्री बद्लिएर पनि सरकार र कार्यनीति बद्लिएको छैन भन्दै मन्त्री ढकालले योजना समयमै सम्पन्न गर्ने परिपार्टीको विकास गर्न मातहत निकायलाई निर्देशन दिए । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री ढकाल पर्यटनमन्त्री बनेका हुन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा नौ सदस्य नयाँ थप गर्दै केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए ।

    
    
    
    
    
    
    
    
    

    

५ बर्ष अगाडि

प्रतिक्रिया