भरतपुर महानगरपालिका वडा नम्बर १० अस्पताल रोडमा आगलागी भएको छ। नारायणी सामुदायिक अस्पतालअगाडि रहेको होटल तथा प्रोभिनल स्टोरमा आगलागी हुँदा त्यहाँका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।
सोमबार राति करिब ९ः४५ बजे आगलागी हुँदा होटल छहारी, पौडेल दूध डेरी एवं प्रोभिनल स्टोर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। भरतपुर महानगरपालिकाको कार्यालयबाट करिब एक किलोमिटर दुरीमा रहेको घटनास्थलमा महानगरपालिकाको बारुणयन्त्र आउन ढिला हुँदा आगलागीबाट धेरै क्षति भएको स्थानीयको भनाइ छ।
नवलपुरको कावासोती नगरपालिका तथा भरतपुर महानगरपालिकाको दमकलका साथै स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा राति ११ः२० मा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
आगलागीबाट एकतले टिनको घर तथा होटल र पसलमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। होटलको ग्यास लिक भएर आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब निरीक्षक प्रभुप्रसाद ढकालले बताए।
छहारी होटलका सञ्चालक डिल्लीप्रसाद कँडेल र भीमप्रसाद कँडेल तथा पौडेल दूध डेरी एवम् प्रोभिजनल स्टोरका सञ्चालक मनोज जोशी रहेका छन्। उनीहरुको बयानको आधारमा क्षतिको विवरण प्राप्त गर्न सकिने प्रहरीले जनाएको छ।
प्रतिक्रिया