तीन ओटा आरोहण समूहले शिशिर ऋतुका लागि लिए अनुमति

५ बर्ष अगाडि

काठमाडौं- शिशिर ऋतुमा हिमाल आरोहणका लागि तीन ओटा आरोहण समूहले अनुमति लिएका छन् । शुक्रवारसम्म विभिन्न तीन ओटा हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको पर्यटन विभागले बताएको छ ।     
     
विभागको पर्वतारोहण शाखाका अनुसार शिशिर ऋतुका लागि अमादब्लम (६ हजार ८१४ मिटर), लुजा पिक (५ हजार ७२६ मिटर) र काङ्गेरी–२ (६ हजार ५०६ मिटर) चढ्न आरोहण अनुमति जारी भएको छ ।     
अमादब्लम हिमाल आरोहणका लागि चार, लुजा पिक चढ्न तीन र काङ्गेरी आरोहणका लागि एकजनाले आरोहण अनुमति लिएका हुन् । तीन ओटै हिमालबाट (३ हजार २९) रुपैयाँ रोयल्टी जम्मा भएको छ । 

सन् २०१९ को शिशिर ऋतुमा आठ ओटा आरोही समूहका ३६ जना अरोही (पुरुष मात्र) सदस्य थिए । उनीहरुबाट  २१ लाख २५ रुपैयाँ हजार रोयल्टी उठेको थियो । यो वर्ष जाडो याम भर्खरै शुरु भएकाले साना हिमाल र पिक आरोहणमा आरोही बढ्नसक्ने विभागको भनाइ छ ।     
     
कोभिड–१९ महामारी बीच सरकारले गत कात्तिकदेखि पर्वतारोहण र पदयात्रा खुल्ला गरेको थियो । यस वर्षको शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि १२ ओटा आरोही समूहका नौ  जना महिला र ६८ जना पुरुषसहित आरोही सदस्य थिए । शरद ऋतुमा  ४० लाख ६३ हजार रुपैयाँ रोयल्टी जम्मा भएको थियो ।

सन् २०१९ को शरद ऋतुमा १६४ ओटा आरोही समूहका २५७ जना महिला र ९५३ जना पुरुष गरी १ हजार २०० आरोही सदस्य थिए । उक्त याममा ५ करोड ५७ लाख ८३ हजार  रुपैया रोयल्टी उठेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया